h

News

शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू

2016-09-12

news

-खगेन्द्र पन्धाक लिम्बू --
असल मान्छेहरूको बारेमा चासो राख्न र उनीहरूको बारेमा बुझेर अरुलाई सुनाउन मलाई विशेष रुची लाग्छ । यसै क्रममा मिडियाले खासै वास्ता नगरेको ब्यक्तित्वमाथि मेरो मानसिकता घुमिरहेको निकै भएको थियो । प्रचण्डका छोराले हिमाल चढ्दा करोडौँ लगानी गरेर हल्ला गर्ने देशमा एक लिम्बू नारीले सफल सगरमाथा आरोहण गर्दा पनि खासै यसको चर्चा राज्य र मिडियाले गरेन । उनी हिमाल आरोही मात्र हैनन्, एक शिक्षित जनजाति मूलकी नारी, कवि-लेखक पनि हुन् । उनका आफ्नै जीवन र अनुभव बारेका लेख-कविता फेसबुक र अनलाईनतिर पढिरहन्थेँ । र, थप जानकारी अध्ययन गरेर र स्वयम ब्यक्तिसँग थप कुरा सोधेर एउटा लेख लेख्ने अठोट गरेर केहि प्रश्नहरू राखेको थिएँ । जव जवाफ आयो- मैले आफ्नो भाषामा सबै जवाफलाई अनुवाद गरेर लेख तयार गर्न मन गरिन । र सिधै यसरी प्रकाशन गर्न सम्प्रेशण गरेँ । म अहिले सगरमाथा आरोही लिम्बू नारी जुनिता लिम्बू अर्था 'जुन्ता बिन' बारेका कुरा गरिरहेको छु यतिबेला ।

 ----जुनिता लिम्बू(जुन्ता बिन)

— जन्मस्थान: आम्बुङ्ग ९, कोबेक ,तेर्हथुम, नेपाल ।

जन्ममिति: February-१, १९८५

आमा-बुवाको नाम: पबित्र सुब्बा /अग्नि प्रसाद लिम्बू

सगरमाथा आरोहण सफल मिति : २००९ मे १९ १०: ३० बजे

अहिले कहाँ  हुनुहुन्छ ?

-अमेरिका ,लस एञ्जलस ।

सगरमाथा आरोहणपूर्वका कुनै आरोहण भए बताई दिनुस् न ! - यला पिक (२००९)लांगटांग । माउन्ट एल्ब्रुष (२०१०) रसिया । highest पिक यूरोप ।

अरु तालिम ?

 - आरोहीको तालिम (नेपाल पर्वतारोहण संघ ) को मिति १९ अगष्ट देखि १८ सेप्टेम्बर २००८ सम्म रसुवाको लांगटांग आरोहण तालिम।

सगरमाथा नै चढ्ने उदेश्य ?

-Without plan I do plan,in that case that happened यधपी "Save The Himalaya" भन्ने mission सहित २००९ मा Mt. Everest को सफलताका साथ आरोहण गरेकी हुँ ।

शिक्षा र हिमाल आरोहणको सम्बन्ध के होला ?

-सुन्दा फरक पाटो जस्तो लागेपनि शिक्षा र हिमाल आरोहण एक अर्काका पूरक हुन् । शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ। चुनौतीबाट सरल अवतरण गर्न मद्धत गर्छ।

शेर्पाहरुले चढ्ने हिमाल गैर शेर्पा नारीले चढ्दाको महत्वपूर्ण अर्थ ?

 -सोच….! शेर्पा र गैर शेर्पामात्र होइन, म त नारी र पुरुष पनि भन्दिन । भावना, आत्मा/आत्मबल, साहस सबैमा हुन्छ । तर कोही निश्चित समयकालागि निश्चित पारश्रमिक लिएर आरोहणलाई पेशा बनाउँछन, कोही नयाँ अनुभवको खोजीमा आत्मसन्तुष्टिकालागि चढ्छन् । आरोहण त सैद्धान्तिक रुपले एउटै हो, तर सोचमा भिन्नता हुन्छ ।

जीवन र हिमाल उक्लाईको फरक के ?
-आरोहण जीवनलाई मृत्युको आँखाबाट देखिने अनुभव हो। जीवनको गहिराईलाई आत्मसात गर्न उचाईले पनि सिकाउछ।

तपाईको अनुभव र साहसबाट अरुलाई दिनुपर्ने तपाईंकै आफ्नो वाक्य-
 -शालीनता, धैर्यता, स्वयंप्रतिको सम्मान, बिश्वास र प्रेम । जब हामी आफूलाई ती गुणहरुमा रुपान्तरित गर्छौं, हामी कसको निमित्त प्रेरणाको श्रोत बनिदिन्छौँ, हामी स्वयंलाई थाहा हुँदैन।

कविता, जीवन र हिमाल आरोहणमा के तादाम्य छ ?
-जीवन र हिमाल मूर्त हुन्, कविता आफूले देखेको सत्य ओकल्ने अमूर्त माध्यम । शब्द माध्यम हो, तर कुनै शब्दले पनि हाम्रो अनुभवको पूर्ण बर्णन गर्न सक्दैन ।

तपाईंलाई आरोही, कवि या शिक्षित लिम्बू नारी, के भन्दा हामी सही हुन्छौं ?
-कसैले दिएको नाम वा सम्मानलाई मैले महत्वको बिषय बनाएको छैन । साँच्चै भन्नुपर्दा म एउटा सामान्य मान्छे हुँ र, म निश्चिन्त छु । लागेको कुरा स्वतन्त्र रुपले प्रकट गर्छु, लेख्छु । त्यो कहिले कवि भएर आउँछ त कहिले आरोही । कहिले देखावटी बौद्धिक त कहिले मूर्ख !

आजका युवाहरुलाई भन्नै पर्ने कुरा ?
-शक्तिको श्रोत युवाले जाँगर हराउनु सबैलाई घाटा हो । व्यक्तिगत र सामूहिक । मेहनतमा गुनासो गर्ने ठाउँ नदिई लाग्ने हो भने असम्भव केही पनि छैन ।

हिमाल आरोहणमा रुचि हुनेहरुलाई सल्लाह ?
-रुचि राख्ने होइन, स्वयं रुचि बन्नुस् । यसकोलागि आत्म-सम्मान र आत्म-बिश्वास जादूको छडी हो । यो आरोहण मात्र होइन, अरु क्षेत्रमा पनि लागू हुन्छ। यो बिना मानिस भीडभित्रै हराउँछ ।

 हिमाल आरोहण अनुत्पादक, खर्चालू र खतरा हो भनिन्छ, तर पनि किन चढ्नु पर्ने?
 -जीवन स्वयं अनुत्पादक छ त्यसो हो भने । जन्म्यो, खायो, मर्यो । आफ्नै दायरामा आफैलाई ठूलो बनायो, सानो बन्यो, मिथ्या सोचको उथल-पुथल गरायो । नत्र यो नाम, दाम, पावर-पोलिटिक्सको दौड चाही कति उत्पादक छ त ? हाम्रो प्रत्येक पाईला नयाँ पाईला हो । कुनैपनि अनुभव अनुत्पादक हुँदैन । प्रत्येक स्वास नयाँ हो, उत्पादक हो । तर यो पाएर के गर्ने, व्यक्तिको सोच र ईच्छाको कुरा हो । खर्चको कुरामा हो, यो काम खर्चिलो छ । तर एउटाले गरेको खर्च अर्कोकोलागि कमाई हो । त्यो पेशामा लाग्नेको रोजगारी हो । खर्चको श्रोत फेला पार्नु चुनौती हो । तर खोजको अगाडी खर्च गौण हुन जान्छ ।

खतरा के हो ?
-जीवन स्वयं खतरनाक हतियार हो । आफूले आफूलाई अथवा आफूले अर्कालाई पनि काट्न सक्छ । तर बिष पिएर बिष मर्दैन । खतरा मोल्नुको स्वाद अलग्गै हुन्छ ।

हिमाल चढ्दाको खर्च, मेहनत र खतरा अरु ठाउँमा लगाए बढी व्यवहारिक र सामाजिक टेवा पुग्छ जस्तो लाग्दैन ?
-लाग्दैन । सबै क्षेत्र एक अर्कासंग अन्तर-सम्बन्धित छन् । गतिको नियम हेरौं न । यो ब्रह्माण्ड नै यसरी रचना भएको छ । मैले शिखरमा पुगेर प्राप्त गरेको अनुभवको आधारमा आफूमा सकारात्मक परिवर्तन ल्याउन सकें भने त्यही नै समाजकोलागि टेवा हो । व्यक्ति-व्यक्तिमा चेतनाको बिकाश भएपछि ब्यबहारिक सामाजिक टेवा मात्र होइन, सम्पूर्ण सामाजिक रुपान्तरणको प्रक्रिया शुरु हुन्छ । जुनको ताबेईले म जन्मिनु अघि सगरमाथा ढोग्नु भयो । म उहाँको प्रेरणाले चढें । उहाँले म जस्ता कतिलाई जन्माउनुभयो, त्यो न उहाँलाई थाहा छ, न मलाई थाहा छ । असल कार्यले, अलग कार्यले जहिले पनि आफ्नो छाप छोडेको हुन्छ । प्रेरणाको कुनै क्षेत्र वा सीमाना हुदैन ।

अहिले के गर्दै हुनुहुन्छ ?

 --पढाई, व्यवसाय, लेखन यस्तै छ ।

योजना ?

-चाँडै नै मेरो संस्मरणहरुको संगालो "अन्तर्मनमा सगरमाथा" पाठकहरु सामू ल्याउने कोशिशमा छु । एउटा कविता सङ्ग्रह तयार छ । नाम जुरिसकेको छैन ।

नेपाली राजनीति बारे ?

 -नेपालको किचनमा खान पाकेको छैन, तर 'राजनीति गरेर देश बनाउँछु' भन्नेहरु वेटरको पोशाकमा तित्ता भाँडा ठटाउँदैछन् । राज्यको निर्माण गर्ने यन्त्र स्वार्थी गोटीचालमा बद्लिएको छ । बिचारको अभावमा राजनिति धरापमा परेको छ । पदको लडाईंमा सिर्जना हारेको छ । बिदेशमा बसेर यसो भन्दा मुटु दुख्छ । तर जहाँ भए पनि मन त नेपाली नै हो ।

खुशी कसरी प्राप्त गर्न सकिन्छ ?

-आफैसँग प्रेममा परेर ।

 तपाईंले भन्नैपर्ने कुरा ?

 -स्वयंलाई चिन्ने प्यास र प्रयास छ ? जीवन सफलतातिर उन्मूख छ । चिनिसकेको छ, जीवन सफल छ। मूल मुद्धा जीवन सुखी र सन्तुष्ट भएर बाँच्नु हो । धन त अचेतन व्यक्तिसँग पनि हुन्छ, तर उसँग धन बाहेक केही हुँदैन । संसार खूल्ला बिश्वबिध्यालय हो र प्रेम प्रमूख पाठ्य सामग्री । प्रेमी हुनु र स्वयं प्रेम हुनु फरक कुरा हो ।

Comment

Related News