h

News

सुदूर पूर्वमा उदाएका ज्योति – गणेशबहादुर राई

news

 ~ देवराज राई ~
आफ्नो जीवनको अधिकांश समय ताप्लेजुङको हाङपाङमा बिताएर त्यस क्षेत्रको शैक्षिक र समाजिक विकासमा अमूल्य योगदान दिनु भएका विद्वान साहित्यकार, शिक्षासेवी गणेशबहादुर राई जहाँ बसे पनि नेपाली भाषा, साहित्य, संस्कृतिको माया गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नु हुन्थ्यो र उहाँले जहाँजहाँ पाइला टेक्नुभयो ती ठाउँहरुमा नेपाली भाषा, साहित्य र शिक्षालाई मलजल अनि गोडमेल गर्नु भयो ।

गणेशबहादुर राई नेपालको सुदुर पूर्वी पहाडको ताप्लेजुङमा रहेर ३० बर्ष भन्दा बढि शिक्षा क्षेत्रमा योगदान दिई जीवनको ठूलो अध्याय पूरा गर्नु भएको थियो । उहाँले छर्नु भएको शिक्षाको ज्योति पाएका धेरै विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गरिसकेका छन् । राईको ख्याति शिक्षण पेशामा मात्र नभई, अन्तर्राष्ट्रिय स्तरका लेखकहरुसंग प्रतिस्पर्धा गर्न सक्ने लेखन क्षमता थियो ।

राईले ३२ वर्षको उमेरमा विवाह गर्नु भएको थियो । उहाँका ३ छोराहरु र १ छोरी छिन् । आफ्ना सन्तानहरुबाट समेत सन्तुष्ट देखिनु हुने उहाँ आफ्ना छोराहरु समेत विभिन्न क्षेत्रमा सक्रियताका साथ संलग्न भएकामा गर्व थियो ।

सन् १९३९ सालमा पश्चिम बंगालको मिरिक दार्जीलिङमा स्व. छत्रबहादुर राई र स्व. अर्जुमाया राईको जेठो छोरोको रुपमा जन्मनु भएका गणेशबहादुर राईले आफ्नो शिक्षाको प्रारम्भ दार्जीलिङबाटै गर्नु भएको थियो । माध्यमिक तह एवं कलेज तह देहरादुनको डीएभी कलेजबाट  पूरा गर्नु भएको उहाँले सोही विश्वविद्यालयबाट अंग्रेजी साहित्य, राजनीतिशास्त्र एवं हिन्दी साहित्यमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नु भएको थियो । स्नातकोत्तर तह समाजशास्त्रमा अध्ययन गर्नु भएपनि विविध कारणले पूरा गर्न सक्नु भएन । त्रिभुवन विश्वविद्यालयबाट बी.एड गर्नु भएको उहाँले  ‘कम्युनिटी इजुकेशन’ विषय भने अष्ट्रेलियाको इन्टरनेशनल ट्रेनिङ इन्ष्टिच्यूट सिड्नीबाट पूरा गर्नु भएको थियो ।

भारतीय सेनाबाट अवकास पाएकाहरुको सहयोगकालागि कार्यरत डीएसबी (डिष्ट्रिक सोल्जर्स बोर्ड)को सहयोगमा संचालित तत्कालिन सरस्वती निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापक भई वि.सं. २०१८ सालको भदौ महिनामा हाङपाङ पुग्नु भएको गणेश सरले ६ महिनाको योजना बनाउँदै त्यहाँ पुग्नु भएको थियो रे । सारा जीवन त्यहीँ बिताइएला भनेर सोच्नु भएको थिएन रे ।

वि.सं २०३८ सालमा अवकास लिई विद्यालय छाड्नु भएको उहाँले ३ दशकसम्म आफ्नो सम्पूर्ण तन, मन, धन र पसिनाले  आफू रहेको ठाउँलाई मलजल गर्नुभयो । शिक्षण पेशामा आवद्ध भई हजारौं विद्यार्थीहरुलाई शिक्षाको उज्यालो ज्योति प्रदान गर्नुभयो ।  उहाँको गाउँ प्रतिको मोहले गाउँको विकासमा पनि उतिकै ध्यान दिनु भएको थियो । त्यसबेला सो क्षेत्रमा विद्यार्थीको खेलकूद विकासमा टेवा दिन उहाँकै अग्रसरतामा आठराई खेलकुद मंडल नाम गरेको चारवटा विद्यालयको साझा प्रतियोगिता संरचनाको समेत विकास भएको थियो ।

साहित्य सम्बन्धी विभिन्न गतिविधि संचालनदेखि समुदायका हितमा समेत काम गर्नु भएका गणेश सर वि.सं. २०२६ सालमा हाङपाङ गाविसका लागि प्रधानपञ्चका लागि उम्मेद्वार भई पाराजित पनि हुनु भएको थियो । यसबारेमा यस पंक्तिकारलाई स्मरण गर्दै भन्नु हुन्थ्यो, “साथीभाइको अनुरोधमा गाउँको थप सेवा गर्ने उद्देश्यले प्रतिस्पर्धा गर्न उम्मेद्वार बनेको थिए झिनो मतले पराजित भएँ ।” त्यसो त उहाँलाई चुनावताका विभिन्न आरोप, लांक्षणहरु लगाइएको थियो । उहाँका विरोधीहरुले बाघको छालामा स्यालको रजाई गर्न दिनु हुदैन समेत भने । केहीले विदेशी भएको आरोप पनि लगाए । गणेश सरको चित्त दुःखेता पनि गाउँको मोह त्याग्नु भएन । शिक्षा प्रतिको मोहले अनवरतरुपमा विद्यालयको सेवा गर्न चाहनु भयो । तिखो आलोचना व्यहोरे पनि चटक्कै गाउँ छाड्न रुचाउनु भएन । विभिन्न आरोप आफूलाई लाग्दा पनि जातीय नारा र पैसाको चलखेल गर्नेहरुका सामू उहाँले आफूलाई कमजोर महशुश गर्नु भएन । अनवरत बगी रहनुभयो ।

राईले विद्यालयको सेवाकालमा स्तरीय शिक्षा र प्रशासन प्रदान गर्नु भएको कारण पनि धेरै राम्रा विद्यार्थीहरु जन्मिएका थिए । आफू प्रधानाध्यापक रहेकै अवस्थामा आफ्नो पढाईलाई निरन्तरता दिनु भएको थियो । सोही दौरानमा उहाँले शिक्षा विषयमा स्नातक पूरा गर्नु भयो । अष्ट्रेलियामा अध्ययन गर्न सेवाकालमा नै पुग्नु भएको थियो । शिक्षा मन्त्रालयको कोलम्बो प्लान अन्तर्गत छनौट भई अध्ययन गर्ने अवसर पाउनु भएको थियो । हाङपाङको सो विद्यालयलाई निम्न माध्यमिक तहबाट माध्यमिक तहसम्म पु¥याई दुई दशक सेवा गर्नुभयो । सेवामा अहोरात्र लागि रहँदा पनि मनमा उब्जिएका अनेकन् गुनासाहरुले काम गर्ने रुची भएन अन्ततः वि.सं २०३८ सालमा आन्तरिक कारण देखाउदै उहाँले अवकास लिनु भएको थियो ।

शिक्षा क्षेत्रको अनुभव एवं नेपाल सरकारको नीजिस्तरमा विद्यालयमा खोल्न पाउने नियमलाई सदुपयोग गर्दै ताप्लेजुङ जिल्लामा वि.सं. २०३८ सालको कार्तिकमा रोजल्याण्ड नाम गरेको निजी प्राथमिक विद्यालय स्थापना गर्नु भएको थियो । सो विद्यालय नवज्योती उच्च माध्यमिक विद्यालयको नाममा संचालन भइरहेको छ । उहाँले सो विद्यालयमा १० बर्षसम्म काम गर्नु भएको थियो ।

वि.स.२०४८ सालमा काठमाण्डौ प्रवेश गर्नु भएको उहाँले काठमाण्डौमा आएर पनि आफ्नै नाममा विद्यालयको स्थापना गर्नु भएको थियो । गणेश इङलिस बोर्डिङ स्कूलको नाममा संचालित सो विद्यालय एक बर्षपछि केही सहयोगी व्यक्तिहरुसंगको सल्लाह र सहयोगी विद्यालयसंगको सम्झौताले गोर्खा बोर्डिङ स्कूलको नाममा संचालन भएको थियो तर विद्यालयमा शिक्षा क्षेत्रसंग असम्बन्धित व्यक्तिहरुसंग कामगर्न असजिलो महशुश गरि उहाँ पुनः वि. सं. २०५१ सालमा ताप्लेजुङ फर्कनु भएको थियो । फर्केपछि आफूले स्थापना गरेको विद्यालयलाई अरु ४ वर्षसम्म शिक्षासेवी चक डस्टर समाउने, नयाँ पुस्तालाई ज्ञानदिने काम गर्नुभयो ।

जीवन एकनाश कहाँ हुन्छ र ? गणेशबहादुर राईको कान्छो छोरा अमोद राईको अनुरोधलाई स्वीकार गरी वि.सं. २०५५ सालमा हङकङतिर जानु भएको थियो । हङकङमा रहँदा नेपाली भाषा र साहित्य संरक्षण गर्ने काममा लाग्नु भयोे । हङकङमा नेपालीहरुद्वारा खोलिएको पहिलो विद्यालय हङकङ पनसेटिया प्राथमिक विद्यायलमा केही समयका लागि उहाँले कार्यकारी सह—प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको थियो । यसका साथै नेपाली पाठ्यक्रम विकास परिषद् अन्तर्गत रहेर हङकङका विधार्थीहरुका लागि नेपाली पाठ्यपुस्तक तयार पारी दिनुभएको थियो । आज पर्यन्त उहाँले तयार पार्नुभएको पाठ्यसामाग्रीहरु नै विद्यालयहरुमा प्रयोग भइरहेका छन् ।

एभरेष्ट पत्रिकाको संस्थापक समेत रहनु भएका उहाँले परिवारका अन्य सदस्यहरुसंग मिलेर केही समय नेपाली टाइम्स पत्रिका समेत प्रकाशन गर्नु भएको थियो । गणेश सरको गीत, गजल कविता संग्रह ‘जिन्दगीदेखि जिन्दगीसम्म’ प्रकाशित भएको थियो । उहाँले रचना गर्नु भएको गीतगजलहरु नेपाली गीत संगीतका नाम चलेका कलाकारहरुले गाइसकेका छन् । हिन्दी साहित्य र अंग्रेजी साहित्यमा राम्रो दख्खल राख्नु हुने उहाँको एक अंगे्रजी कविता संग्रह  अमेरीकाको अर्थर हाउसले प्रकाशित गरेको छ ।

गणेशबहादुर राई नेपाल सरकारको भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार र नइ धनरुप पुरस्कारबाट सम्मानित हुनुभएको थियो । गणेश सरलाई जिवित रहुँजेल उहाँले नै मार्गनिर्देश गर्नुभएका लेखक, साहित्यकार नरेन्द्रराज प्रसाईले त्रिमूर्ति निकेतनबाट धेरै वास्ताफिक्री गर्दा गणेश सर सधैँ नरेन्द्रराज प्रसाईजस्ता विधार्थी पाएकामा गर्व गर्थे । उहाँले प्रसाईलाई भातृप्रेमले प्रिय मानी सधैँभर नजीकबाट सम्मान गर्थे र प्रसाईलाई नेपाली भाषा, साहित्यको मूल खाँबो मान्थे ।  

हङकङमा उहाँलाई भेट्दा – शिक्षा क्षेत्रमा लागेर उमेर गएको पत्तै पाइन भन्थे । जीवनको अन्तिम दिनहरुमा कष्टकर जीवन बिताउनु भएका गणेश सरले २७ मे, २०१८ बिहान देह त्याग्नु भयो । देश, समाज निर्माण गर्न भनी अध्ययन र अनुभव पोको बोकी गाउँ पस्नु भएका गणेशबहादुर राई जीवनभर धेरैकालागि माथि उक्लने भर्याङ बन्नु भयो ।  गणेश सरलाई श्रद्धासुमन ।
 

Comment

Related News