h

News

हाम्रो टोलका हड्ताले दाई

news

~ राजकुमार दिक्पाल
लामो समयपछि भेट भयो, मेरा हितैषी नरभुपाल राईसँग, लिस्वनस्थित उहाँकै रेस्टुरेन्टमा । डायास्पोरामा रहेर समाजसेवा र ब्यवसायलाई सँगसँगै अगाडी बढाइरहनुभएका उहाँ हालः नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगलका अध्यक्ष हुनुहुन्छ ।

डायास्पोराको जहाँसुकै रहेपनि स्वदेशको समकालिन राजनीतिबारे चासो नराख्ने नेपाली कमै छन् । नरजी र म पनि केही सुखदुःख र ब्यवहारिक कुराकानीपछि समकालिन राजनीतिक सन्दर्भतिर मोडिइहाल्यौँ । नरजीले केही सम्झेँझै गरेर भन्नुभयो,“एक साँच्चै राजेन्द्र राईलाई मन्त्री देलान् त ?”

राजेन्द्र राई अर्थात मेरो जिल्ला धनकुटाबाट विजयी प्रतिनिधि सभा सदस्य । उहाँ मन्त्री हुने वा नहुने कुनै सूचना छैन, मसँग । त्यससम्बन्धी सूचनाको स्रोतसम्म पहुँच राख्न पनि असमर्थ छु अहिले । नरजीको जिज्ञासालाई शान्त पार्ने मसँग कुनै भरपर्दाे सूचना नभएपछि यतिमात्र भनेँ,“राजेन्द्र दाईलाई मन्त्री दिने नदिने विषयमा मसँगै त्यस्तो कुनै भरपर्दाे सूचना नभएकोले म अहिले केही भन्न सक्दिनँ, तर यति हो, उहाँकै नेतृत्वमा धनकुटामा एमालेले क्लीन स्वीप गरेपछि चाहिँ उहाँको केन्द्रसम्म राम्रो पहुँच छ भन्ने लाग्छ, फेरि यो मेरो निजी बुझाई मात्र हो ।”

ती हड्ताले दाई
नरजीसँगको छोटो भेटमा भएका यी टुक्राटुक्री राजनीतिक प्रसङ्गमा जब राजेन्द्र दाईको पनि  प्रसङ्ग चल्यो, त्यसपछि म उहाँकै सन्दर्भलाई लिएर रुमलिन लागेँ । राजेन्द्र दाईकै फ्ल्यासब्याकहरु आँखाभरि नाच्न थाले ।
सानोमा हामी राजेन्द्र दाईलाई “हड्ताले दाई”का नामले सम्बोधन गथ्र्यौँ । “हड्ताल” शब्दमा पनि एकलखे लगाएर सम्बोधन गर्दा रिसाउलान् कि जस्तो लाग्थ्यो । तर यस्तो सम्बोधनबाट उहाँमा त गौरव अनुभूति हुँदोरहेछ । अनि हाम्रो गाला चिमोटेर भन्नुहुन्थ्यो, “ल तिमीहरु राम्ररी पढ्नु है ।”

“अति तिमीहरु हड्ताल गर्न आउँछौ, कसरी राम्ररी पढ्नु नि ?” मैले त्यतिखेर कक्षामा पढाउने शिक्षक शिक्षिकावाहेक कसैप्रति आदरार्थी शब्द प्रयोग गर्न जानेकै थिइनँ ।
“हा.. हा.. हा..”उहाँ हाँस्नुमात्र हुन्थ्यो ।

त्यो बेला म मेरै टोलमा रहेको गणेश प्राथमिक विद्यालयको कक्षा–१को विद्यार्थी थिएँ । कलेज वा माध्यमिक विद्यालयमा तहमा पढ्ने विद्यार्थी दाईहरु र सेनासँग असाध्यै डर लाग्थ्यो । एक दिन कक्षा कोठाको झ्यालबाट पुलुक्क चिहाएको मात्र केही थियौँ  १०–१२ जनाको सेनाको समूह हाम्रै स्कूलको आगनको डीलमा आड बनाएर हामीतिरै पो राइफल ताकिरहेका ।
अब खत्तम हुने भो ! “ए धने अब के हुन्छ हँ ?” हाम्रो टोलदेखि नजिकै आर्मी क्याम्प रहेको र त्यहाँ उनको बुवा पनि बहालवाला सैनिक भएकोले मैले सहपाठी धनबहादुर गोलेलाई सोधेँ । उनको जवाफले झन खङ्ग्रङ्ग बनायो । उनले भने,“यिनीहरु हामीलाई मार्न आएको, अब हामी लुक्नुपर्छ । ”

उनैले सिकाएअनुसार हामी टाउको लुकाएर बेन्चभित्र छि¥यौँ । अनि सास रोकेर बस्यौँ । बल्ल राइफल ताक्ने सेना गयो भन्ने थाहा पाएपछि बेन्चभित्रबाट हामी निस्क्यौँ । लाग्यो, धन्न बाँचियो !
दाई विद्यार्थीहरुसँगको डर यस अर्थमा कि उनीहरुले पढ्न दिदैनन् । हाम्रो बालमष्तिष्कमा हड्तालमा उत्रने दाई विद्यार्थीहरुप्रति यस्तो धारणा थियो,उनीहरु स्कूलमा आउँछन्, पढाउन दिदैनन् । लखेट्छन्, पिट्छन् ।

समय पनि कस्तो परेको, एकातिर स्कूल बन्दै गर्दै हिड्ने हड्ताले दाई हरु अर्कातिर हाम्रै स्कूलको आगनमा आएर राइफल ताक्ने सेना ।
“तिमी अलि पछि बुझ्छौ भाई”, हड्ताले दाई राजेन्द्र भन्नुहुन्थ्यो ।

२०३६ सालको राजनीतिक आँधी हुरीका यी हड्ताले दाईका कुरा एक वर्षपछि मैले बुझि पनि हालेँ, जब हा हाम्रो दुई घरमध्ये एउटा घरमा राजनीतिक र साँस्कृतिक जमघट हुन थाल्यो ।
२०३७ साल अर्थात् म कक्षा–२मा पढिरहेको बेलै मैले केही कुरा बुझिहालेँ, हड्ताले दाईहरु राम्रो कामका लागि हड्तालमा उत्रिएका रहेछन् । हाम्रो स्कूलको डीलमा आड कसेर बन्दुक ताकिरहेका सेना पनि देशको रक्षाका लागि तालिम लिइरहेका रहेछन्, यो पनि मैले बुझिहालेँ ।

त्यहीँ समय मेरा दाजु डम्बर सुब्बाले चिनिया क्रान्तिताकाकी चर्चित बालसेना ल्यू हू लानको संघर्षमा आधारित सचित्र कथा पढ्न दिएको मात्रै होइन, त्यसको सप्रसङ्ग ब्याख्या समेत गरिदिएपछि मलाई हड्ताले दाईहरु प्यारो लाग्न थाल्यो, जस्तो कि राजेन्द्र राई ।

उहाँले एक दिन  मलाई एउटा एक फूट जति लामो पाइप दिनुभयो र भन्नुहुन्थ्यो,“ल भाई यो माइक हो, यसमा बोल्दा ठूलो सुनिन्छ, अनि  निलो रङमा भोट दिनुहोस, बहुदललाई जिताउनुहोस भन्दै फुक्दै हिड्नू है ।”
उहाँले जसो भन्नुभयो, मैले पनि त्यसै गरेँ ।

त्यो समयको हाम्रो टोलको पक्का घर । खरिदार बखतबीर तामाङको घर । अहिले त्यो घर “हिरेको घर” भनेर चिनिन्छ । हिरे अर्थात् राजु तामाङ, मेरा अन्तरङ्ग बालसखा । राजेन्द्र दाई त्यसबेला हाम्रो छिमेकको त्यहीँ घरमा डेरा गरेर गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पढ्नुहुन्थ्यो । अनि त्यहीँ स्कूलको अखिलको नेता । राजनीतिक आँधीहुरीको त्यो समयदेखि नै म राजेन्द्र राईलाई जान्दछु र बुझ्दछु । अहिले उहाँलाई मन्त्री बनाउँछन् कि बनाउँदैनन्, यो चाहिँ प¥यो, मैले उहाँका सम्बन्धमा नजानेको र नबुझेको पाटो ।

जिल्ला पार्टीमा बागी
२०४६ सालको जनआन्दोलनताका धनकुटा अखिलको नेतृत्व धर्मराज पौड्यालले समाल्नुभएको थियो, र राजेन्द्र दाई चाहिँ जल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो । २०४७को परिवर्तनलगात्तै सम्पन्न अखिलको जिल्ला सम्मेलनले राजेन्द्र दाईलाई अध्यक्ष चुन्यो ।मैले जतिखेर उहाँलाई भेटेँ, त्यतिखेर पनि उहाँ विद्यालय तहबाट अखिलको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, त्यसबेला म कक्षा–१मा पढ्थेँ । मेरो कलेज जीवन प्रारम्भ हुँदाताका पनि उहाँ विद्यार्थी राजनीतिमै सक्रिय हुनुहुन्थ्यो ।

उहाँले विद्यार्थी राजनीतिबाट विदा लिएपछि अखिल धनकुटाको नेतृत्व लक्ष्मी निरौलाले सम्हाल्नुभयो, त्यो कमिटीमा म सहसचिव थिएँ । यो सामान्य सम्झना मेरो लागि किन महत्वपूर्ण त भने यी हड्ताले दाईलाई जतिखेर मैले देखेँ वा भेटेँ, उनैले नेतृत्व हस्तान्तरण गरेको जिल्ला कमिटीमा म पनि एउटा पदाधिकारी हुन आइपुगेँ ।

सानैदेखि राजेन्द्र दाईको प्रभाव ममा थियो, र केही समयसम्म रहिरह्यो । एमालेको पाँचौँ महाधिवेशनमा प्रतिनिधि छनौटको लागि दुर्गा लिङ्खाको नेतृत्वमा गठीत तीन सदस्यीय निर्वाचन समितिको सदस्य थिएँ म । त्योबेला बहुदलीय जनवाद पक्षधरमध्ये धनकुटाबाट रकम चेम्जोङ र दुर्गा दहालले मात्रै चुनाव जिते, अन्य सबै नौलो जनवाद अर्थात सीपी मैनाली पक्षधर त्यो बेला तत्कालिन साँसद गोपाल गुरागाई र जिल्ला विकास समिति सभापति धर्मराज पौड्यालसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट चुक्नुभयो । उहाँहरुको बागी हुनुहुन्थ्यो, राजेन्द्र राई । उहाँकै नेतृत्वका पक्षधरहरु महाधिवेशन प्रतिनिधि छनौट भए ।

त्यसबेलाको धेरै आन्तरिक कुरा खोतल्नेतिर कहिल्यै गइनँ, म । मात्र यति हो, त्यो बेला धनकुटा, एमालेमा सत्तापक्षधरजस्तो देखिन्थे, गोपाल गुरागाईँ, रकम चेम्जोङ र धर्मराज पौड्यालहरु, अनि वागीजस्ता चाहिँ राजेन्द्र राई ।

राजेन्द्र दाई किन बागी ? त्यसबेला मेरो मनमा यो कुरा खेलिरह्यो । कसैलाई सोधेको थिइनँ । उहाँको नेतृत्वमा रहेको धनकुटा अखिलको सचिव विनोद लुइटेल (हालः सहप्राध्यापक डा. विनोद लुइटेल)को एक रात बास प-यो मेरो घरमा । उहाँ मलाई धनकुटा अखिलको भावी कमिटीमा बस्न  सम्झाई बुझाई गर्न आउनुभएको थियो ।
“किन राजेन्द्र दाई पार्टीमा सधैँको बागी ?” मेरो जिज्ञासा ।

लुइटेलले भन्नुभयो,“मलाई पनि धेरै कुरा त थाहा छैन, तर उहाँले आफूलाई साथीहरुले कहिल्यै अगाडी बढ्न नदिएको भन्दै एक दिन त मेरो कोठामा आएर रुनु पनि भो ।”
सबै कुरा लुइटेलले भन्नुभएन, र मैले कोट्याएर सोधिनँ पनि ।

तर उहाँ धनकुटा एमालेको आन्तरिक बागीका रुपमा प्रस्तुत भइरहनुभयो । २०४७को परिवर्तनपछि भएको धनकुटा एमालेको जिल्ला अधिवेशनमा त उहाँ पार्टी नेतृत्वकै लागि  चुनाव लड्नुभयो । त्यो बेला गोपाल गुरागाईको मत ११ र राजेन्द्रको ७ थियो । धनकुटाको कम्युनिष्ट आन्दोलनका सर्वोच्च नेता गोपाल गुरागाई हुनुहुन्छ । उहाँपछि सबैभन्दा जेलनेल खेप्ने चाहिँ राजेन्द्र दाई नै हुनुहुन्छ । क

त्यसपछि हाई हाई
कुनै समय थियो, धनकुटा क्याम्पसमा अत्यधिक जनमत अखिलको हुँदा हुँदै  अखिल कार्यकर्ताले नै नेबि संघबाट पिटाई खानुपर्ने । त्यसको एउटा भुक्तभोगी म आफै पनि हुँ । जब २०५३ सालतिर सुजनभाई जोशीहरुको धनकुटा अखिलमा उदय भयो, तब नेवि संघले कुटाई खानुपर्ने दिन प्रारम्भ भयो ।

फेरि धनकुटामा एमाले संकटमा फस्यो । वाईसीएलको जगजगी भयो, धनकुटामा, २०६२/६३को जनआन्दोलन लगात्तै ।  काँग्रेस वा नेवि संघ झडपमा उत्रन छाडेको एक दशक भइसकेको थियो । अब जुध्ने पालो आयो, वाईसीएल र युथ फोर्सको । युथ फोर्सले क्लीन स्वीप बनाइहाल्यो । यसमा सुजनभाई जोशीहरुको ठूलो हात छ र भूमिका चाहिँ राजेन्द्र राईको ।  त्यो बेलादेखि नै राजेन्द्र राईको धनकुटामा हाई हाई मच्चिहाल्यो ।

समय क्रममा मैले चिने जानेको राजेन्द्र राई स्थानीय निर्वाचनको परिणामपछि एमाले अध्यक्ष केपी ओलीद्वारा सम्बोधित हुनुभयो,“म्यान अफ् द म्याच ।”
प्रिय मित्र नरभुपाल राईको जिज्ञासाअनुसार “राजेन्द्र राईलाई एमालेले मन्त्री बनाउँछ कि बनाउँदैन ?” यो मलाई थाहा छैन, तर उहाँले एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीबाट
“म्यान अफ् द म्याच”को उपाधि चाहिँ पाइसक्नुभएको छ । यो त सार्वजनिक भइसकेकै छ । 

Comment

Related News