h

News

विदुषी बुलु शर्माको कथा

news

बुलु शर्मा सत्याल संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन् । शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी शर्माले त्यसै घरमा कखरा पढिन् । धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो ।

शर्माका ठूलो बुबा अम्बिकाप्रसाद उपाध्याय र ठूली आमा अम्बालिकादेवी धनी भईकन सौखिन पनि थिए । त्यसैले पटनामा गर्मी हुँदा उनीहरू पहाडी इलाकातिर जान्थे । उनीहरू गर्मी महिनामा प्रायः सिमला, मुसुरी, नैनीताल, दार्जिलिङ आदि ठाउँ घुम्थे । त्यस यात्रामा शर्मा पनि सरिक हुन्थिन् । चाहे घरमा होस्, चाहे यात्रामा होस्; शर्मा अनुशासित, शिष्ट र आज्ञाकारी स्वभावकी थिइन् । उनी असल गुणले बाँधिएकी थिइन् र अत्यन्तै सोझी पनि थिइन् । सारै सोझी भएकाले घरका सबैले यिनलाई ऋषिकन्या भनेर बोलाउँथे । त्यस शब्दले सम्बोधन गर्दा यी पनि सारै खुसी हुन्थिन् र मक्ख पर्थिन् ।

शर्मा सानामा गीत गाउँथिन् । यिनलाई हार्मोनियम सिकाउने गुरु घरमै आउँथे । यिनका दाजु अर्थात् ठूली आमाका छोरा सूर्यप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेसका नेता) एकपटक नेपालबाट पटना जाँदा शर्माले गीत गाएकी थिइन् । तर उपाध्यायलाई आफ्नी चेलीबाट गाइएको हुँदा त्यो गीत चित्तै बुझेन । केटीले गीत गाउन हुँदैन भन्ने उनका दाजुको चाहना थियो । वास्तवमा त्यस विषयले शर्माका मनका नेपाल र नेपालीप्रति वितृष्णाका लहर सृजना भएका थिए ।

शर्माको बिहेको प्रसङ्ग पनि नेपालमा नै चल्यो ।  त्यस विषयमा पनि सूर्यप्रसाद उपाध्यायको गीतगायनका प्रसङ्गलाई सम्झेर यिनले नेपालीप्रति त्यति सकारात्मक धारणा राखिनन् । जे भए पनि यिनलाई हेर्न मान्छेहरू काठमाडौंबाट बनारस पुगेका थिए । यिनलाई हेराउने हिसाबले त्यहाँ सिनेमाहलमा पाँच जना नौला नेपालीहरूका लागि टिकटको पनि बन्दोबस्त भयो । सिनेमाहलमा तिनीहरू शर्माका अगाडि बसेका थिए । तिनीहरू घरीघरी पछाडि फर्केर शर्मालाई हेर्थे । त्यसै बेला शर्माकी आमा बोलेकी थिइन् “ए नानी ! चस्मा फुकाल, चस्मा लगाउन हुँदैन । तिमीलाई हेर्न नेपालबाट मान्छे आएका छन्, कस्ती उत्ताउली भन्छन्, चस्मा फुकाल नानी !” आमाका कुरामा शर्माले भनिन् “चस्मा फुकालेर कसरी सिनेमा हेर्नू ?”

आमाका संवाद सुनेर शर्मा छक्क परिन् । नेपाल कस्तो विचित्रको ठाउँ रहेछ ? केटीले गीत पनि गाउन नहुने, चस्मा पनि लाउन नहुने ! अन्ततः त्यो कस्तो ठाउँ होला भन्ने उनी मनमनै सोच्न लागिन् । वास्तवमा त्यति बेला बिहे गरेर नेपालमा नजाने अठोट उनले गरिसकेकी थिइन् । तर पनि चौध वर्ष पुगेपछि शर्माको बिहे भएरै छाड्यो । काठमाडौं गैरीधाराका नोदराज सत्यालसँग १९९९ सालमा उनको वैवाहिक जीवन कायम भयो । शर्माका ससुरा मेदनीराज सत्यालचाहिँ श्री ३ जुद्धका भारदार थिए ।

शर्मा बनारसबाट दुलहा र जन्तीसहित नेपाल आउने निधो भयो । नेपाल आउन उनीहरू बनारसबाट रेल चढे । उनीहरू रेलबाट रक्सौलमा ओर्ली वीरगन्ज पसे । त्यहाँबाट त्यो लस्कर भीमफेदीको उकालो लाग्यो । त्यहाँको पहाडी मनोरम दृश्य, कलकल बग्ने खोला, छ्याङछ्याङ झर्ने झरनाबाट शर्मा मोहित भएकी थिइन् । त्यसै परिवेशमा उनी गीत गुनगुनाउन पनि थालिन् । उनका गीतका भाकामा २० वर्षीय दुलहा गदगद हुने गर्थे । बास बस्तै उनीहरू काठमाडौंतिर लागेका थिए ।

बरियाँतले काठमाडौं टेकेका दिन शर्माले यहाँ मोटर पनि देखिन् । थानकोटबाट मोटर चढी उनी आफ्नो निवास विशालनगर आइन् । केही समय काठमाडौं बसेपछि उनी बनारस गइन् । फेरि उनी काठमाडौं आइन् । उनको माइती र घरमा आउनेजाने क्रम जारी रह्यो ।

शर्मा काठमाडौंमा आफ्नो घरधन्दामा लागिन् । ससुराको आज्ञाले घरमा चस्मा लाउन पनि थालिन् । तर घरबाहिर चस्मा नलगाउन उनलाई ससुराको विशेष निर्देशन नै थियो । चस्माबिना उनी सात फुट टाढाका मान्छे पनि चिन्दैनथिन् ।

शर्मा काठमाडौंमा हात बाँधेर मात्र बसिनन् । त्यति बेला उनले टोलछिमेकका महिलाहरूलाई निःशुल्क स्वीटर बुन्न सिकाउन थालिन् । उनले सिलाइ, बुनाइ र कटाइ गर्ने काम पनि छिमेकीहरूलाई सिकाउन थालिन् । त्यति बेला आफ्नो खुल्लापनका कारणले उनी धेरैकी मनपर्ने भएकी थिइन् ।

शर्माले बिहे गरेको नौ वर्षमा छोरो पाइन् । उदय जन्मेको दुई वर्षपछि यिनले छोरी पाइन् मुक्ता । मुक्ता जन्मेको छ वर्षपछि यिनले फेरि छोरो पाइन् । उनको नाउँ राखियो उज्ज्वल ।

शर्माले पढाइ छाडेको दस वर्षपछि फेरि पढ्न रहर गरिन् । दुई छोरा र एक छोरी भएपछि उनले बनारसबाटै म्याट्रिक दिने विचार गरिन् । उनी माइतबाटै परीक्षामा सम्मिलित हुने भइन् । त्यसैले शर्माका बुबाले घरमा पढाउने एउटा गतिलो शिक्षक राखिदिएका थिए । परीक्षा आउन चार महिना बाँकी भए तापनि उनले हिम्मत हारिनन् । उनलाई म्याट्रिक पास गर्छु भन्ने पूर्ण विश्वास थियो । त्यसैले उनी रातोदिन घुँडाटेकाइमा लागिन् ।

सात कक्षा पढेर स्कुल नगएकी विद्यार्थीका लागि म्याट्रिक परीक्षा अनौठो नै थियो । त्यसमाथि आपूmले पढेको एउटै प्रश्न पनि परीक्षामा आएको थिएन । त्यसैले शर्मा पहिलो दिनमा नै परीक्षा हलमा आधा घन्टा बसेर आफ्नो कापीमा सिम्बल नम्बर लेखेर बाहिर निस्किन् । एउटै प्रश्नको उत्तर दिन नपाएकामा उनी त्यो दिन झोक्राएर घर पुगिन् । आपूmले कुनै पनि प्रश्नको उत्तर नलेखेकोमा उनले खूबै पछुतो पनि मानिन् ।

भोलिपल्ट पनि शर्मा परीक्षा दिन गइन् । त्यस दिन सजिलो प्रश्नपत्र परेको थियो । त्यसैले आत्मविश्वासका साथ उनले परीक्षा दिइन् । त्यही रीतले उनका सम्पूर्ण परीक्षा सम्पन्न भए । आपूmले परीक्षा दिएकोमा उनलाई आत्मसन्तुष्टि भयो । त्यसपछि उनी काखे छोरो च्यापेर काठमाडौं आइन् ।

काठमाडौंमा आएको केही महिनापछि शर्माले बनारसबाट आकाशवाणी पाइन् । उनी म्याट्रिकमा द्वितीय श्रेणीमा पास भएकी रहिछन् । साथै नेपालीमा सत्तरी नम्बर आउँदा सुरुका दिनमा छाडेको नेपालीमा समेत त्यही नम्बर जोडिएर उनी पास भएकी रहिछन् । सुत्केरी बस्न माइत गएका बेला म्याट्रिक परीक्षा दिएकाले उनले म्याट्रिक परीक्षा दिएको काठमाडौंमा कसैलाई थाहा थिएन । एकैचोटि बनारसबाट खबर आएपछि मात्र उनका घरपरिवारले उनी म्याट्रिक पास भएको थाहा पाएका थिए ।

पढाइबाट केही वर्षसम्म विश्रान्ति लिएपछि शर्माले आई. ए. पढिन्; पास भइन् । फेरि उनी कलेज अफ एजुकेसनमा बी. एड. पढ्न भर्ना भइन् । त्यसै बेलादेखि उनले ‘गोरखापत्र’, ‘मधुपर्क’ र अन्य पत्रपत्रिकामा आफ्ना रचनाहरू छपाउन थालिन् र रेडियो नेपालमा पनि रचनाहरू दिन थालिन् । रेडियो नेपालको स्थापनापछि शर्माले लेखेको ‘समाज र प्रेमी’ नाउँको पहिलो रूपक प्रसारण भएको थियो । उक्त रूपक प्रसारण भएपछि धेरैले यिनको तारिफ गरे । त्यसपछि यिनी रूपकलेखनमा पनि लागिरहिन् ।

म्याट्रिक पास गरेको दस वर्षमा शर्माले कलेज पढ्न थालेकाले उनलाई पढाइले निक्कै थिच्न थाल्यो । तर उनका पतिले उनलाई प्रोत्साहन दिइरहन्थे । उनका पतिले उनलाई पढ्ने वातावरण मिलाइदिइरहन्थे । उनैले बुलुलाई कलेजसम्म मोटरसाइकलबाट पु¥याउने र ल्याउने गर्थे । शर्मा आफ्ना लोग्नेको प्रेरणाले पढ्नेतिर प्रेरित भइरहिन् । उनी कलेजकी एउटी असल विद्यार्थीका रूपमा समेत परिचित भइरहिन् ।

शर्माले कलेजमा पढ्दा सांस्कृतिक कार्यक्रममा भाग पनि लिइन् । त्यसबापत उनले पुरस्कार पनि पाइन् । त्यतिमात्र होइन उनले त्यसै बेला बी. एड. कक्षाकी मेधावी विद्यार्थीका रूपमा थप अर्को पनि पुरस्कार पाइन् । उनी यी सारा प्रोत्साहनबाट जति उत्साहित थिइन् सोबमोजिम उनी क्रमशः कलेजमा हाजिर भएर पढ्न सक्ने अवस्थाबाट वञ्चित हुन थालिन् । घरको व्यवहार नमिल्दा उनले निरन्तर कलेजमा गएर पढ्न पाइनन् । त्यसैले उनले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बी. ए. को फाराम भरिन् । उनी रातोदिन घोटिएर घरमै पढ्न थालिन् र पास पनि भइन् । पछि यिनले बी. एड. पनि पास गरिन् ।

स्नातक भएपछि शर्माले कथा, कविता, निबन्धका अतिरिक्त गृहविज्ञानबारे पुस्तकहरू लेख्न थालिन् । त्यति बेलादेखि नै उनले यी विषयमा चासो दिएबापत यिनका ६ वटा पुस्तकहरू प्रकाशनमा आए ।

शर्माले आफ्नो छोरो उदयको निधनपछि ‘जीवन, आनन्द र पीडा’ लेखिन् । त्यो कृति धेरै चर्चित बन्यो । यही कृतिले यिनलाई साहित्यकारमा स्थापित गराइदियो । यिनी निबन्धकारका रूपमा पनि खूबै चर्चित भइन् । त्यसपछि यिनको अर्को महत्वपूर्ण सृजनात्मक कृति निर्माण भयो ‘छुटेका पाइला’ । यो ग्रन्थ उनले आफ्ना लोग्ने स्वर्गीय भएपछि (२०५७ सालदेखि) लेख्न थालेकी थिइन् । खुसी र पीडा अनि जीवन र जगत्मा आधारित ‘छुटेका पाइला’ (२०६०) निबन्धसाहित्यको उत्कृष्ट कृति बन्यो । त्यो कृति अन्य भाषामा पनि अनुवाद भयो । यही कृतिमा शर्माले ‘भूपालमानसिंह कार्की कृति पुरस्कार’ पाइन् । साथै उनी महाकवि देवकोटा शताब्दी सम्मान, नेपाल सरकारबाट भानुभक्त पुरस्कार, विश्वनारी नेपाली साहित्य सम्मान र विश्वनारी नेपाली साहित्य पदकबाट पनि सम्मानित भइन् ।

नइ प्रकाशनले बुलु शर्माका सम्मानमा गत वर्षदेखि नइ बुलु शर्मा पुरस्कारको स्थापना गरी समर्पण गर्दै आएको छ । हरेक वर्ष पचास हजार रुपियाँ राशि सहित ताम्रपत्रका साथ यो पुरस्कार काठामाडौं उपत्यका बाहिरका नारी स्रष्टालाई समर्पण गरिने छ ।

शर्माले नेपाली साहित्यमा दुईवटा कृति समर्पण गरिन् र निबन्ध र आत्मकथाका फाँटमा प्रसिद्धि कमाइन् । उनी नेपाली भाषासाहित्यकी नअस्ताउने तारा बनिन् । यिनका दुवै कृतिले यिनलाई अमर बनाइदिए । वास्तवमा यिनको एउटा कृति छोराको वियोगमा आधारित छ भने अर्को कृति पनि लोग्ने स्वर्गीय भएको दुई महिनापछि लेख्न थालेर बरखीभित्र पूरा गरेकी थिइन् । सरल भाषा, उत्कृष्ट शैली र ओजिलो प्रस्तुतिसहित यिनका ती कृतिहरू चर्चित भए ।

शर्मा नेपाल र भारतका विभिन्न भूभागमा घुमिन् । साथै उनले पाकिस्तान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, स्वीट्जरल्यान्ड र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिन् । उनी जहाँजहाँ पुगिन् आफ्ना डायरीका पाना लेख्तै भरिन् । ती कुरा जोडेर पनि यिनले ‘छुटेका पाइला’ लाई ठूलो पारिन् ।

सरल व्यवहारले भरिएकी बुलु शर्मा सत्याल नेपाली साहित्यमा एउटी सुपरिचित नारीस्रष्टाको नाउँ हो । उनी साहित्यसृजनाकी प्रेरणा हुन् । सात दशक  जीवन भोगिसकेपछि वियोगमा पर्दा पनि पूर्ण धैर्य लिएर ‘छुटेका पाइला’ नामक ओजपूर्ण कृति सिर्जना गर्ने बुलु साँच्चिकै सबैका निम्ति प्रेरक व्यक्तित्व नै भइन् । नेपाली भाषा साहित्यकी विशिष्ट प्रतिभा बुलु शर्मा झन्नै एक शताब्दी उमेर बाँचेर २०७४ साल असार ३० गते काठमाडौंमा स्वर्गीय भइन् ।

Comment