h

News

धनकुटाको बायोलोजिक भोट

news

-- राजकुमार दिक्पाल
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको परिणामपछि धनकुटा जिल्लाले ध्यान खिचेको छ । यो निर्वाचनमा एमालेले जिल्लामा क्लिन स्वीप गरेर चर्चा कमायो । दोस्रो चरणको निर्वाचनमा एमालेले क्लिन स्वीप गरेको जिल्ला धनकुटा मात्र एउटा हो ।

स्थानीय तहको निर्वाचनमा एमालेले यसभन्दाअघि पनि राम्रै सफलता पाएको थियो, धनकुटामा । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा देशभरि एमालेले एक्लो प्रयासमा जिल्ला विकास समिति गठन गर्न सम्भव जिल्ला भोजपुर र धनकुटा मात्र थिए । यी दुई जिल्लामध्ये धनकुटामा एमालेको अवस्था अझ सुदृढ थियो । २०५४ सालमा आइपुग्दा साविकको महाभारत गाविसबाहेक सबै स्थानीय निकायमा एमालेले जितेको थियो । जिल्ला विकास समिति गठनमा त्यसबेला पनि क्लिन स्वीप गरेकै थियो ।  
२०४४ सालको पञ्चायतकालिन स्थानीय निर्वाचनमा तत्कालित मालेले उपयोगितावादी नीतिअनुसार दुई गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार उठाएको थियो । तीमध्ये बेलहारामा गोपाल गुरागाईं र राजारानीमा टेकरत्न चेम्जोङलाई उठाएको थियो । दुवैले जितेका थिए ।

कडा गृहकार्य
धनकुटाले दुई जना प्रधानमन्त्री जन्मायो । एक सूर्यबहादुर थापा र अर्का नगेन्द्रप्रसाद रिजाल । तर रिजाललाई धनकुटाबासीले कहिले पनि जिल्लाबासी भनेर न गौरव गरेको थाहा छैन । तर सूर्यबहादुर थापाको लिगेसी एमालेका लागि चुनौतिपूर्ण रहदै आएको छ, क्षेत्र नम्बर २ मा । २०४८ सालको निर्वाचनमा उनलाई एमालेले हरायो । तर त्यसपछिको दुई वटा निर्वाचनमा थापाले यो क्षेत्रबाट जिते । एक पटक माओवादीका हरिराज लिम्बूले जिते भने पछिल्लो पटक थापाकै छोरा सुनिलले झिनो मतान्तरले एमालेलाई हराए । यो क्षेत्रमा एमाले पराजीत हुनुको मुख्य कारण एमालेभित्रको निरन्तरको अन्तरघात र थापाको लिगेसी नै हो । तर यो पटकको स्थानीय निर्वाचनमा भने थापाको पार्टीको पुरै बढारियो । कतिसम्म भने थापाको गृहगाउँ साविकको मुगा गाविससमेत समेटिएको पाख्रिबास नगरपालिकाबाट एमालेले मेयर र उपमेयर मात्रै होइन, कुनै पनि पदमा कसैलाई जित्नै दिएन ।

धनकुटामा एमाले पहिलो पार्टी भएकै कारण अन्य पार्टीको आँखाको तारो बन्दै आएको छ । सर्वदलीय समितिका बैठकहरुमा जिल्लामा अस्तित्वमा रहेका पार्टीहरु एकातिर र एमाले एक्लै अर्कोतिर हुने । यसबाट एमालेले के महसुस गरेको थियो, यदि स्थानीय तहको निर्वाचन भइहाले अन्य सबै पार्टी एकातिर हुनेछन् र उनीहरुको गठबन्धनलाई एक्लै सामना गर्नुपर्नेछ । त्यसैले एमालेले कडा गृहकार्य गर्न थाल्यो ।

एकातिर एमालेको कडा गृहकार्यतिर लाग्यो भने अर्कातिर अन्य पार्टीहरुबीच तालमेलको कुरा खासै मिल्न सकेन । साँगुरीगढी र चौविसे गाविसमा काँग्रेस र समाजवादी फोरमबीच तालमेल त भयो, तर यस क्षेत्रमा स्थापित एमालेको प्रभावसामु यो तालमेल फिका बन्यो । यसरी एमालेले धनकुटामा इतिहासको बिरासत बचाउँदै सहजै क्लिन स्वीपको नतिजा निकाल्यो । यो न अस्वाभाविक थियो, न त आकस्मिक । यसवापत धनकुटाका एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले पार्टी अध्यक्ष ओलीबाट “म्यान अफ् दी म्याच”को उपाधि पाइसकेका छन् । आसन्न पार्टी महाअधिवेशनबाट राई पार्टीको केन्द्रीय समितिमा पुग्ने सम्भावना बलियो बन्दै गएकोे छ ।

सुजनभाईहरुको योगदान
शान्ति प्रक्रियापछि देशभर चन्दा आतङ्क मच्चिदा धनकुटा अछुतो थिएन । उसै त धनकुटामा एमाले अन्य पार्टीको आँखाको तारो । चन्दा आतङ्कको विरोधमा एमाले युवाहरु उभिए । त्यसपछि त वाईसीएललाई पुगिहाल्यो । बाटोमा एमाले भएर हिड्यो कि पिटाई खानु पर्ने दिन सुरु भयो । एमाले भएर सदरमुकाममा शिर ठाडो पारेर हिड्न नसकिने अवस्था सिर्जना भयो ।

अब गर्ने के ? युवा संघका तत्कालिन जिल्ला अध्यक्ष सुजनभाई जोशी, प्रवीण पोखरेललगायत नगरबासी एमाले युवाहरुलाई खपिनसक्नुभयो । तर ज्यान जोखिममा राख्नुपर्ने भयो, उनीहरुलाई । कतिखेर के हुने हो, थाहा छैन ।

अन्ततः उनीहरु चन्दा आतङ्क रोक्नका लागि बरु मर्न तयार भए । सदरमुकाममा ठूलो झडप भयो । वाईसीएल सैयौँ सङ्ख्यामा हुन्थ्यो, तर एमाले युवाहरु तितरबितरको अवस्थामा थिए । सिमित युवा पार्टी कार्यालयमा ज्यान बचाएर बसेका थिए । उनीहरुले ज्यानको बाजी थापे । र, बाहिर निस्के, भिड्न । सुजनभाई जोशीको नेतृत्वमा प्रवीण पोखरेल, समीर जोशी, दिलिप रायमाझी, बुद्ध तामाङ, राम लामा, मनोज राई, नारायण घिमिरे, दिपक, सुरेश अधिकारी र राजकुमार तेयुङ गरी जम्मा ११ जना थिए, ज्यान जोखिममा राखेर बाहिर निस्कने ।

यी ११ जनाले सैयौँ सङ्ख्यामा रहेका चन्दा आतङ्ककारीलाई सदरमुकामबाट लखेटे । यो भिडन्तको दृश्य अचम्मको थियो । लखेट्नेहरु तलतिर, भाग्नेहरु माथितिर । खेद्ने जम्मा ११ जना, भाग्ने सैयौँको सङ्ख्यामा । भाग्नेहरु उकालैउकालो भागे, खेद्नेले ओरालोतिरबाट खेदे । त्यतिखेर सुजनभाई जोशीहरुले चन्दा आतङ्कलाई क्लिन स्वीप गरे ।
हो, त्यसपछि धनकुटामा शान्ति मात्र छाएन, आफूलाई एमाले भनेर हिड्नेहरुको शिर ठाडो भयो । एमाले भएकैले कुटाई खानु पर्ने दिन सकियो । यी साहसी युवाहरुलाई राजेन्द्र राई र इन्द्रमणि पराजुलीहरुले ठूलो साथ दिएका थिए ।

बायोलोजिकल भोट
जिल्ला नै क्लिन स्वीप गर्न सफल एमालेका लागि नेपाली काँग्रेसभन्दा पनि यो पार्टीबाट सदरमुकाम धनकुटा नगरपालिकामा मेयर पदका उम्मेदवार दिनेश राई ठूलो चुनौति भएर देखा परे । मेरो आफ्नै वडाका पूर्व वडाध्यक्ष मेरा बालसखा उमेशचन्द्र अधिकारी पार्टीलाई सघाउन काठमाडौबाट गृहनगर गएका थिए । नगरको वडा नम्बर १ र २ को गणनापछि हजार मतको अन्तरले मेयरमा एमालेका चिन्तन तामाङ अगाडी बढेपछि एमालेमा ठूलो उत्साह आयो । यद्यपी उमेशजीले भन्नुभयो,“तर जातीय भोट आइरहेको सुनिन्छ । यसै भन्नसक्ने अवस्था चाहिँ छैन । हाम्रो पार्टीले मेयरमा जितिहाले डेढ सय मतभन्दा फरक चाहिँ पर्दैन ।”

उमेशजीले भनेकै अवस्था देखियो । दिनेश राई, आठपहरिया राई हुन् । एमाले उम्मेदवार चिन्तन तामाङ वडा नम्बर १ का स्थानीय बासिन्दा । त्यहाँ पनि ओकमालुङ टोलमा आठपहरिया राईको घना बस्ती छ । त्यहाँ चाहिँ उनलाई फरक परेन । तर आठपहरिया राईको राम्रै बस्ती रहेको वडा नम्बर २ (साविकको भीरगाउँ गाविस) बाट दिनेशले राम्रै मत ताने । एमालेले वडाध्यक्षमा ८१६ मत ल्याएर जित हासिल गर्दा काँग्र्रेसका उम्मेदवार २९८ मतमा सिमित भए । जबकि यहीँबाट एमालेका मेयर उम्मेदवारलाई ७५५ र काँग्रेस मेयर उम्मेदवारलाई ५४१ मत आयो ।

साविकको नगरपालिकामा वडा नम्बर १ बाहेक (वडा नम्बर ३, ४, ५, ६, ७ र ८)कुनै पनि वडा त्यस्तो छैन, जहाँ काँग्रेस उम्मेदवार दिनेशले लीड नगरेको नहोऊन् । धनकुटा नगरमा आठपहरिया राईको राम्रै मत रहेको छ । काँग्रेसको गढ रहेको वडा नम्बर ५ र ६ को मत गनिसकिदा एमालेका चिन्तन तामाङ काँग्रेसका दिनेश राईभन्दा १७४ भोटले मात्र अघि थिए । यो परिणाम आउँदा मैले मेरा पुराना साथी जेपी भुजेललाई सोधेँ,“अब के हुन्छ ?” उनले सहजै भने,“भोट त आइडोलोजिकल होइन, बायोलोजिकल पो आउँदैछ ।”

मत गन्न बाँकी साविकको नगरपालिकाको वडा नम्बर ७ र ८ त आठपहरिया राईको घनाबस्ती हो । तर दुवै वडा एमालेका लागि राम्रै वडा हो । वडा नम्बर ८ गनिसक्दा जेपीजीले भनेजस्तै भयो, दिनेश राई ८२ मतान्तरले अगाडी बढे । काँग्रेस कार्यकर्ताहरुले नाराजुलुश सुरु गरिहाले । एमालेमा निराशा छायो ।

अब मत गन्न बाँकी थियो, साविकको वडा नम्बर ९ र १० । सुरुआती गणनामा हजार मतले अगाडी बढेको एमाले ८२ मतले पछि परिसकेको थियो । तर साविकको बेलहाराबाट आफूलाई राम्रो मत आउनेमा ढुक्क थियो, एमाले । अगाडी बढिसकेको काँग्रेसलाई जातीय मतको भरोसा थियो । किनकि बेलहारामा पनि आठपहरिया राईको राम्रै मत छ । तर अन्तिम परिणाममा बेलहारा क्षेत्रमा माओवादी केन्द्र पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो भयो । माओवादी केन्द्र पहिलो भएर एमालेलाई फरक पर्ने कुरा थिएन । अन्ततः बडो मुस्किलले ११४ मतको अन्तरले एमालेका चिन्तन तामाङले धनकुटालाई एमालेको क्लिन स्वीप गर्ने अवस्थालाई जोगाए ।

धनकुटा नगरपालिकाको मत जाहेर गरिएको अवस्थालाई बुझ्दै स्थानीय एमालेजनले के बुझ्न पर्छ भने ब्यालेट बक्समा खस्ने मत आइडोलोजिकल मात्र हुँदैन बाइयोलोजिकल अर्थात् जातीय पनि हुनसक्छ ।

अघिल्ला स्थानीय निर्वाचनमा मैले पनि धनकुटामा पसिना बगाएको थिएँ । यसबेला त परदेशमा छु, सिन्को भाँच्न सकिएन । अहिले स्थानीय तहमा जित्नेहरुलाई भन्नुछ, कम्तिमा जिल्लाबाट प्रतिभा पलायन रोक्नुहोला । मेरा आदर्श व्यक्तित्व रेख ब्लोन जापान भासिएको धेरै भयो । माथि उल्लेखित ११ जनामध्ये नेतृत्वकर्ता सुजनभाई खाँडी राष्ट्रमा पसिना बगाएर स्वदेश फर्केको धेरै भएको छैन । यतिखेर प्रवीण भाई दुवईमा छन्, अनि सुरेश अधिकारी जापानमा । प्रतिभा पलायन रोक्न सके अहिलेलाई मात्र होइन, सधैँ सधैँलाई एमालेले जिल्ला क्लिन स्वीप गर्नेमा कुनै शङ्का छैन ।
 

Comment

Related News