h

News

सम्झनामा महिन दिदी

news

-- राजकुमार दिक्पाल --
शब्दहरुसँग खेल्न असाध्यै मन पर्छ, मलाई । तर आज यी शब्दहरु टाइप गरिरहेको बेला मेरा हातका औलालाई गाह्रो भइरहेको छ । तैपनि लेख्नु त परेकै छ ।  
महिन दिदीको नामअगाडी अब “स्वर्गिय” वा “दिवंगत” लेख्नु पर्ने भयो । संसारमा केही पनि छैन, स्थायी । अनित्य छ, संसार । तैपनि आफ्नो मनलाई छुने मानिसहरु असमयमै अलप भएको क्षण निक्कै पीडादायी हुन्छ । यहीँ पीडाले हो, शब्दहरुसँग खेल्न मन पराउने मेरा हातका औलालाई टाइप गरिरहेको क्षण गाह्रो भएको । तै पनि लेख्नु त परेकै छ ।

पहिलो भेट
२०४९ सालको स्थानीय निर्वाचनमा एमालेले दुई वटा जिल्लामा मात्रै एक्लो बहुमत ल्यायो । ती जिल्ला थिए, भोजपुर र धनकुटा । जिल्ला विकास समिति गठनका लागि त्यो समय धनकुटामा एमालेलाई प्रचण्ड बहुमत मिलेको थियो । स्थानीय स्तरमा निर्वाचित गाविस अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुलाई गाँस र बासको प्रबन्ध गर्न हामी सदरमुकामका स्थानीय कार्यकर्ताहरु अहोरात्र खटेका थियौँ । निर्वाचनले धर्मराज पौड्याललाई जिविस सभापति र टिकाराम चेम्जोङलाई उपसभापतिमा चुन्यो । हाम्रो मिसन सफल भयो ।

त्यतिखेर एक नगरपालिका र ३५ गाविस रहेको धनकुटामा केवल एक जना महिलाले गाविस उपाध्यक्षमा विजय हासिल गर्नुभएको थियो । बुढिमोरङ गाविसबाट महिन दिदी उपाध्यक्षमा विजयी हुनुभएको थियो । दिदीलाई मैले पहिलोपटक जिविसको निर्वाचनमा देखेको हुँ ।

एक जना भलाद्मी, इमान्दार र आकर्षक व्यक्तित्वले मलाई निक्कै प्रभाव परेको थियो । म त्यो बेला अखिलको एउटा कार्यकर्ता थिएँ ।
उहाँले आफ्नो नेतृत्व विकास गर्दै लैजानुभयो । २०५४ सालको निर्वाचनमा उहाँ गाविस अध्यक्ष हुनुभयो । त्यो समय थोरै महिला मात्रै गाविस अध्यक्ष निर्वाचित भए । थोरैमध्येकी एक हुनुहुन्थ्यो, महिन दिदी ।

म भर्खरै पत्रकारितामा बामे सर्दै थिएँ । त्यो बेला मेरो मनमा रिपोर्टिङको एउटा विषय फुरेको थियो । विषय थियो, स्थानीय निकायमा महिला नेतृत्व । यो विषय पनि महिन दिदीको नेतृत्व विकास देखेरै फुरेको हो । तर यसबारे मैले कहिल्यै केही लेखिनँ । अहिलेको स्थानीय निकायको नियमावलीले त प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य गरिसकेको छ । सोहीअनुसार पहिलो चरणको निर्वाचनमा उम्मेदवारहरु विजयी पनि भइसकेका छन् ।

नेतृत्व विकास
धनकुटामा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघ हाँक्ने प्रबल सम्भावना बोकेकी लक्ष्मी देवान विवाह गरेर इलाम गइसकेकी थिइन् । छिन्ताङकी तीर्थकुमारी राई अनेमसंघमा एक्लो कार्यकर्ता हो कि जस्तो लाग्थ्यो मलाई । हात्तीखर्ककी धनमाया सिँजाली दिदीले नेतृत्व त दिइरहनुभएकै थियो । तर उहाँ असाध्यै सोझी । विद्यार्थी राजनीतिमा हाम्रो टीम (लक्ष्मी निरौलाको नेतृत्वको) पछि जेनी राई अखिलको धनकुटा अध्यक्ष चुनिइन् । केही समयपछि नै उनी पनि विवाह बन्धनमा बाँधिएर खोटाङतिर हिडिन् ।

अनेमसंघको नेतृत्वमा मैले एकदमै राम्रोसँग चिनेको (नाम लिन चाहन्नँ)लाई धनकुटाको नेतृत्वमा ल्याइयो । तर जिल्ला सम्मेलनमा तिनको भाषण सुनेपछि मेरो मन खिन्न भयो । लाजले मरणासन्न भएँ म । यसबारे धेरै कुरा नगरौँ ।

मैया धमला विचारबाट पलायन भइसक्नुभएको र गंगा बुढाथोकी पनि सरकारी जागिरमा हुनुभएकोले धनकुटामा महिला नेतृत्वको ठूलो अभाव हुँदै थियो ।
२०५० सालको कुरा । मेरो घर छेउमा जिल्ला पार्टी कार्यालय थियो । त्यहाँ अनेमसंघको नेतृत्व चयन भयो । अध्यक्ष को हुनुभयो, मैले याद गर्न सकिनँ । तर सचिव चाहिँ “कविता राई” हुनुभयो । मैले कविता राई बास्तवमा शकुन्तला बस्नेत हुनुहुन्थ्यो । भूमीगतकालमा ज्यूज्यानलाई हत्केलामा राखेर पार्टी संगठनमा हिड्ने ब्यक्ति बहुदल आाएपछि पनि अर्कै नाममा संगठनमा लाग्नुपरेको थियो ।

त्यो बेला गिरिजाप्रसाद कोइरालाको शासन यति चर्को थियो कि एमालेलाई देख्नै नसक्ने । क्याविनेट मन्त्रि नपाएको कारण पञ्चायत प्रवेश गर्नबाट रोकिएर काँग्रेसमै अडिएका गिरिजा बहुदलपछि पहिलो निर्वाचित प्रधानमन्त्री भए । उनको निरङ्कुशताका कारण यी शिक्षिका परिवार पाल्नका लागि जागिरमा अडिनुपर्ने बाध्यताका कारण शकुन्तला बस्नेतले कविता राई भएर अनेमसंघको सचिव बन्नुपरेको थियो । कठै, बहुदल त गिरिजा र उनका आसेपासेलाई मात्रै पो आएछ । त्यतिखेर मसँग अखिलमा काम गरेका केही साथी मास्टर खान काँग्रेस भए । मलाई चाहिँ न आफूलाई मास्टर खानु थियो, न बिचार बेच्नु । स्वाभिमानमा गौरव गर्छु म । अहिले शकुन्तला दिदी धनकुटा नगरपालिकाको उपमेयर पदको उम्मेदवार हुनुहुन्छ । उहाँ पनि स्वाभिमानको हिमालचुली हुनुहुन्छ ।

यसरी धनकुटामा महिला संगठन अगाडी बढाउन एमालेलाई विविध चुनौति आइरहेको बेला महिन दिदी नेतृत्वको लागि अघि सर्नुभयो । उहाँले अनेमसंघको नेतृत्व लिनुभएपछि हो, धनकुटामा महिला नेतृत्वको अभाव खट्कन नपाएको । यो मेरो एउटा सामान्य बुझाई हो ।

२०५७ सालमा प्रदीप ज्ञवाली अनेमसंघको जिल्ला सम्मेलन उद्घाटन गर्न धनकुटा आउनुभएको थियो । त्यतिबेला महिन दिदीको भाषण सुन्ने अवसर पाएँ । उहाँको भाषणले मलाई प्रभावित ग-यो । म ढुक्क भएँ, अब धनकुटामा अनेमसंघले गति लियो ।

लोभलाग्दो हैसियत निर्माण
महिन दिदीको राजनीतिक यात्रा उकालोतिर लम्कदै थियो । म चाहिँ राजनीतितिरभन्दा पत्रकारिता क्षेत्रमा रमाउन थालेको थिएँ । रकम चेम्जोङ पार्टी विभाजनतिर लाग्नुभएपछि २०५६ सालको निर्वाचनमा महिन दिदीलाई धनकुटा क्षेत्र नम्बर १ मा उठाउने कुरा पार्टीमा छलफल भइरहेको थियो । तर त्यसबेला दुर्गा लिङ्खाले टिकट पाउनुभयो । उहाले अत्यधिक मतले जित्नुभयो ।

महिन दिदी चाहिँ गाविस महासंघको अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा छाउन थालिसक्नुभएको थियो । हरेक निर्वाचनमा दिदीलाई धनकुटा क्षेत्र नम्बर १ को एउटा दावेदारको रुपमा लिन थालियो ।

पहिलो संविधान सभााको निर्वाचनमा उहाँ समानुपातिक उम्मेदवार हुनुभयो भयो, दोस्रो निर्वाचनबाट त उहाँ सभासद पनि हुनुभयो ।
उहाँको नेतृत्व विकासमा वर्तमान राष्ट्रपति विद्या भण्डारीको प्रमुख हात छ । दिदीको क्षमताको परख गर्ने र उहाँको नेतृत्व विकासमा उहाँले प्रत्यक्ष भूमिका निर्वाह गर्नुभएको कुरा लुकाइरहनुपर्दैन । धनकुटामा रकम चेम्जोङपछि एमालेको केन्द्रीय नेतृत्वमा पुग्ने एकै जना व्यक्तिको नाम लिनुपर्दा महिन लिम्बूकै नाम आउँछ ।

एउटा लोभलाग्दो प्रतिभा हामीबाट सदाको लागि विदा हुनुभयो ।

विश्वविजेता अलेक्जेन्डरलाई उनी विश्वविजयको यात्रामा निस्कनुअघि उनका गुरु एरिस्टोटलले उनलाई भनेका थिए,“अलेक्जेन्डर, मानिसले सफलता त भाग्यले पनि पाउँछ । तिमी आफ्नो जीवनलाई सफल बनाउने हो कि सार्थक ? जीवनलाई सार्थक बनाउन त आफ्नो भाग्य मात्रै होइन, आफ्नो मेहनत पनि चाहिन्छ ।”
महिन दिदीले पाउनुभएको सफलता उहाँको मेहनतले नै हो । उहाँले जे जति समय बाँच्न पाउनुभयो, उहाँको जीवन सार्थक भयो ।
अल विदा, दिदी । सेवारो ।

Comment