h

News

भूमीगत कालको त्यो सम्झना

news

-   राजकुमार दिक्पाल
मित्र अर्जुन छाराहाङको फेसबुक वालमा भेटिएको एउटा फोटोले आँखा तानिहाल्यो । एमालेबाट धनकुटा नगरपालिकाको मेयर पदका उम्मेदवार चिन्तन तामाङको चुनावी अभियान हाम्रो टोलमा पुगेको फोटो थियो । त्यो फोटो देख्नासाथ मेरी वृद्धावस्थाकी आमा र मलाई नै पर्खिरहेको घर सम्झेँ । मन भक्कानियो, धरधरी रोएँ ।

त्यसको लगात्तै मैले “मेरो जन्मदाता र मेरो जन्मघर” क्याप्सनमा मेरी आमा र मेरो घरको फोटो फेसबुकमा टाँसेँ । धनकुटाका अग्रज बामपन्थी नेता तथा धनकुटा नगरपालिकाका पूर्व उपमेयर जीवप्रसाद पोखरेलले मेरो घरलाई सङ्केत गर्दै कमेन्टमा लेख्नुभयो,“पूर्व माले सेल्टर ।”

कोशी अञ्चलको पहाडी क्षेत्रको मूल बाटोमा रहेको मेरो टोलको चहलपहल बेग्लै थियो, त्यो बेला । त्यहीँ टोलको पुच्छरबाट मोटरबाटोले अर्कै पाटोको पाखोतिर फन्को मारेपछि अहिले मेरो टोल हुँदै हिड्ने बटुवा फेला पार्न मुस्किल हुन्छ । सुन्य सुन्य छ, मेरो टोल यतिखेर । धनकुटा नगरपञ्चायत घोषणा नहुँदै धनकुटा बजार पञ्चायतको वडा नम्बर १ मा पर्ने र नगरपञ्चायत र नगरपालिका हुँदा पनि साविकको वडा नम्बर ४ मा रहेको यो टोल बत्तिमुनिको अध्यारोमा रहेर पनि विगतको विरासतमा गौरव गर्छ । यहीँ टोलको बासिन्दा म पनि त्यहीँ इतिहासको गौरवगाथा गाएर थाक्दिनँ । आज मलाई धक खोलेर त्यहीँ गाथा गाउन मन लागेको छ ।

मेरो पुख्र्यौली थलो भने ताप्लेजुङको हाङपाङ हो । हाङपाङमा तीन सुब्बा किपटको जिम्मा लिने किपटिया सुब्बाको सन्तान हुँ म । तर समय क्रममा मेरो बुवा आसबहादुर यक्सो लिम्बू चाहिँ लाहुर जानु भएछ । दोस्रो विश्वयुद्ध लडेपछि पेन्सन पकाएर नेपाल फर्कनासाथ उहाँ नेपाली सेनामा भर्ना हुनुभयो, एकैचोटी कप्तान दर्जामा । २००३ सालदेखि बुवाको बसोबास धनकुटामा भयो । अनि हामी स्थायी रुपमा धनकुटाको बासिन्दा भयौँ । यो टोलमा हाम्रो बसोबास भएको २०१३ सालदेखि हो । यो टोलका बासिन्दा सबै तामाङ, हामी एक घर मात्र लिम्बू ।

एक जना यस्तो मानिस
हाम्रो टोलका एक जना मानिस अचानक पुरै परिवारसँग सम्पर्कविहीन भए । कता गए, कुनै खुटखबर छैन ।
अनुहार र जीउडाल असाध्यै आकर्षक । त्यसैले ती मानिसलाई उनको परिवार लाहुर पठाउन चाहन्थ्यो । प्रखर बौद्धिकता । प्रभावशाली वाकशक्ति । साथमा मीठो गायन र बाद्यवादन कला पनि । त्यसबेलाकै स्नातक । यति भए के चाहियो ? मात्र १९-२० वर्षका थिए, उनी त्यसबेला । म ७-८ वर्षको थिएँ, त्यसबेला ।

तिनै व्यक्ति एकाएक परिवारसँग सम्पर्कविहीन भए । टोलमा उनकै चर्चा हुन्थ्यो,“फलानो त कता गएछ है ?”
दशैँको समय थियो । धनकुटाको निशान भगवतिमा मेरो बुवाले हरेक दशैंको नवमीमा एक जोर परेवा उडाउने गर्नुभएको थियो । उहाँ धनकुटा गौडामा कप्तान भएदेखि नै यो चलन गर्नुभएको रहेछ । बुवाको आदेशमा परेवा उडाउन हिडेका दिदीहरुको पछि लागेर म पनि धनकुटा बजारतिर झर्दै थिएँ । हाम्रो टोली सिरानबजारदेखि ठीक मास्तिर लहरेबरमा पुगेको थियो । दिदीहरुमध्येका एक दिदी  चिच्याइन्,“ऊ...दाई !”
हाम्रो टोलबाट लामो समय हराएको उनै मानिस घर फर्कदै थिए । मीठो बोलीमा उनले हामीलाई बाटोमा सम्बोधन गरे । हामी बालबालिकाको अनुहारमा अनौठो चमक आयो । असामान्य थियो, हाम्रो खुसी ।

राइफलजस्तो बाजा र लोचन भट्टराई
त्यसबेला मूलबाटोमा पर्ने घर भएकोले हाम्रो घरमा बास बस्न आउने पाहुनाको ठूलो भीड लाग्थ्यो । भित्री कोठा, बाहिरी कोठाको कुरा छाडौँ, कहिलेकाहिँ त सिकुवा मात्रै होइन, आगनले पनि नपुग्ने । ठूलो सङ्ख्यामा पाहुना लाग्ने भएकोले बुवाले मूलघरसँगै अर्को घर पनि बनाउनुभएको थियो । हामी त्यसलाई “नयाँ घर” भन्थ्यौँ । त्यो घरमा अलि विशेष मानिसलाई मात्रै बस्ने ब्यवस्था गरिएको । त्यो घरमा डेरा गरेर धेरै मानिस बसे । कक्षा ४ मा पढ्दा पूर्व राज्यमन्त्री हरिराज खेवा लिम्बू (दिवंगत)एक वर्ष त्यहीँ घरमा बसे । उनी कक्षा ४ मा पढ्दा म कक्षा १ मा पढ्थेँ । पछि आईए पढ्दा हामी सहपाठी भएका थियौँ ।

अब त्यो हाम्रो “नयाँ घर” डेरामा लगाउन छाडियो । घरमा युवाहरुको जमघट हुन थाल्यो । नयाँ र कहिल्यै नदेखिएका वा नचिनिएका मानिसहरु पनि आउन थाले । जब हाम्रो टोलबाट हराएका  मानिसको घर फिर्ती भयो, त्यसपछि हो, हाम्रो घरमा नयाँ नौला मानिसहरु आउन थालेका । परिचित युवाहरुको जमघट हुँदा गीत घन्कने ।

नयाँ नयाँ मानिसहरु आएको बेला चाहिँ सिमित मानिसहरु भेला भएर गुनगुन कुरा गर्थे, मसिनो स्वरमा । म फुच्चेलाई घरभित्र जाने अनुमति मात्रै थिएन, कहिले काहिँ घरको मूलढोका बाहिर गार्डजस्तै बस्नुपर्ने पनि दायित्व थियो । कोही नचिनेका मानिस वा पुलिस आए भित्र खबर गर्नुपर्ने दायित्व थियो, मेरो ।

कुरा प-यो, २०३७ सालको । विस्तारै त्यो घरमा गानाबजानाले तिब्र रुप लियो । गाउन र बजाउन सिपालुहरु जम्मा हुन थाले, स्थानीयहरु र बाहिरकाहरु पनि । त्यसबेला मैले गायक शम्भु राईलाई पहिलोपटक देखेँ । सुकिला लुगा लगाएर आएका थिए । निक्कै दिन रिहर्सल भयो ।

अब तल्लो टुँडिखेलमा साँझ साँस्कृतिक कार्यक्रम हुने भयो । त्यहाँ शम्भु राईबाहेक अरु को को कलाकार थिए, सम्झना छैन । तर त्यो कार्यक्रमको एउटा दृश्य भने मेरो मनसपटलबाट हराउन सकेको छैन । झल्झली आँखामा नाच्छ, अहिले पनि त्यो दृश्य ।स्वागत गीतपछिको दृश्य थियो, त्यो । एक जना महिला गीतार बजाउँदै मञ्चमा कलाकार साथीहरुका साथ देखा परिन् । उनको नेतृत्वमा गाइएको गीतका शब्दहरु थिए ः

तपाईंहरुको मायाले नै हामी यहाँ आयौँ
राइफलजस्ता बाजा समाई अभिवादन गर्छौँ...
यो गीत गायनको नेतृत्व गायिका लोचन भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रमको आयोजक थियो, त्यसबेलाको प्रगतिशील लेखक कलाकार संघ । यसरी हाम्रो गाउँमा क्रान्तिको सपनालाई मलजल दिन विचारसहितको कलाको जमघट गराउन योगदानको नेतृत्व गर्ने ब्यक्ति चाहिँ टोलबाट केही वर्ष हराउनुभएका दाई रेख ब्लोन हुनुहुन्थ्यो । उहाँलाई साथ दिने चाहिँ मेरो आफ्नै दाजु डम्बर सुब्बा ।

प्रलेकसंघको २०३८ सालमा जिल्ला सम्मेलन भयो । सम्मेलनले मेरा दाजु डम्बर सुब्बालाई अध्यक्षमा निर्वाचित ग-यो । भोलीपल्ट तत्कालिन क्षेत्रीय अदालतको विचारी पदको उनको जागिर चट् ।

झुप्रो घर र मदन भण्डारी
त्यो बेला हाम्रो घरमा आउने नयाँ मानिस केही दिन बस्थे र बाटो लाग्थे । रातीको समय त्यस्ता मानिसलाई भेट्न स्थानीय युवाहरुको जमघट हुन्थ्यो । उनीहरु भेट्दा करुप्प हात मिलाउँथे र मुµी उचाल्थे । लालसलाम गरेका रहेछन् ।
राजेश बान्तवा त्यो समय धनकुटाको जिल्ला पार्टी सचिव हुनुहुँदोरहेछ । उहाँले एक भेटमा मलाई बताउनुभएअनुसार त्यो हाम्रो घर त्यो समयको जिल्ला हेडक्वाटर रे ।

त्यो समयमा आउने नयाँ मानिसका लागि कहिलेकाहिँ मूलघरमा खानाको प्रवन्ध गरिन्थ्यो । कहिलेकाहिँ चाहिँ एक जना छिमेकीको घरमा । हाम्रो घरकाहरु त्यो घरलाई “पल्लो घर” भन्थ्यौँ ।
भूमीगत भएर आएकाहरुलाई खानाको ब्यवस्था गर्न दाईहरु घरघरबाट चामल उठाएर ल्याउँथे । त्यो घरमा खाना पाक्थ्यो ।

एक पटक पाँच जना जतिको समूह चार÷पाँच दिनका लागि बस्यो, हाम्रो घरमा । उनीहरुका लागि खानाको ब्यवस्था उही छिमेकीको घरमा गरिएको थियो । एक साँझ पाहुना अर्थात् भूमिगत नेताहरु खाना खाएको हेर्न त्यो घरभित्र छिरेँ । खाना खानुअघि सँगै आएकाहरुले एकापसमा करुप्प हात मिलाए र लालसलाम गरे । टुकीको मधुरो उज्यालोमा चुपचाप खाना खाए । खाएको थाल आफैले धोए । खाना खाने क्रम सकियो । फेरि उनीहरुले करुप्प हात मिलाएर लालसलाम गरे । त्यो बेला हो, खाना खाँदै गरेको अवस्थामा मैले मदन भण्डारीलाई देखेको । यसबारे पुष्टि गर्न मैले राजेश बान्तावाले सोधेँ । उहाँले भन्नुभयो,“त्यसबेला मदन आउनुभएको थियो, तपाईंहरुको घरमा हाम्रो सेल्टर थियो । त्यहाँ निक्कै ठूलो बैठक बसेको थियो ।”

रातो माटोले पोतिएको त्यो झुपडीमा भने कहिल्यै बिजुली बलेन । हाम्रो टोलमा २०३० सालदेखि नै विद्युत आपूर्ति सुरु भएको हो । तर त्यो घरले विजुली बाल्ने क्षमता कहिल्यै राखेन ।
भूमीगतकालमा मदन भण्डारीलाई खाना खुवाउने यो घर भत्किसक्यो । यो घरमा भूमीगत नेतालाई विहानको खाना खुवाउने जेठा छोरा गंगाबहादुर मजदुरी गर्न मूलघाट जाँदा तमोरमा बगे र बेपत्ता । मूल मान्छे जसबहादुर दाई असम भासिए । भाउजुको पनि दुःखैदुःखमा मृत्यू भयो । कान्छा छोरा काठमाडौंतिर मजदूरी गर्दैछन् ।

यो घरका माहिला छोरा मेरा बालसखा अमृतबहादुरका लागि केही गरौँ भन्ने लाग्यो मलाई । उनी काठमाडौंमा गलैचा मजदुर थिए । २०५६ सालको निर्वाचनमा उनलाई काठमाडौंबाट झिकाएँ र निर्वाचन प्रचारमा खुब दौडाएँ । त्यो बेला धनकुटाको स्थानीय निकायमा पार्टी सत्तासिन थियो । मैले हाम्रो वडाबाट स्थानीय निकायमा पुगेका एक “बरिष्ठ”समक्ष बिन्ति बिसाएँ,“लौन, फलानोका लागि केही बिचार गरिदिन प¥यो । उनीहरुको घरले भूमीगतकालमा पार्टीलाई योगदान गरेको छ ।”

तर ती वरिष्ठको कानमा बतास परेन । मलाई प्रस्ट थाहा छ, ती बरिष्ठ हाम्रै घरको आगनबाट ओहोरदोहोर गर्थे तर पार्टीको कहिल्यै सेल्टरमा पसेको थाहा छैन । क्रान्तिकारी सपनाका उपासकहरुलाई भेट्दा पनि देखे नदेखेजस्तै गर्थे, त्यो बेला । तर बहुदल आएपछिको प्रतिफल जिल्लामा पार्टी सत्तासिन भएपछि ती बरिष्ठको हालीमुहाली चल्यो । जब द्वन्द्वकालमा पार्टी संकटतिर उन्मुख भयो, तिनले पार्टी छाडे, निष्क्रिय भए । वर्तमानमा सत्ताको छायाँमा रमाउने चाहनेलाई इतिहासप्रति गौरव नहुने रहेछ भन्ने धारणाका साथ दुःखी हुँदै त्यो प्रसँग र ती पात्रलाई बाध्यतापूर्वक यतिखेर सम्झनु परेको छ । निर्वाचनपछि पार्टी धनकुटामा सत्तासिन हुने कुरामा कुनै शंका छैन, त्यसपछि तिनको गतिविधि कस्तो हुन्छ, बडो उत्सुकतापूर्वक हेरिरहेछु ।

पार्टीका लागि टाइपराइटर चोरी
प्रायः आकासे रङको सर्ट लगाउने एक जना गोरो अनुहारका कमरेड नियमित आउँथे त्यो सेल्टरमा । उनी एक्लै हुँदा उनको साथी हुन्थेँ, म । केही लेखिरहेका हुन्थे । मसिना र राम्रा अक्षरमा लेख्थे । लेख्न चाहिँ के लेख्थे, म बालकलाई के थाहा ?

सायद उनी पार्टीको सर्कुलर लेख्थे होलान् । अहिले उनले लेखेको कागजको स्वरुप सम्झदा लिथो कागजमा लेखिरहेका हुन्थे, उनी । पछि बुझ्दा उनी धरानका चित्र निरौला रहेछन् । उनी पञ्चायततिर पसेको सुनेँ ।
धरानमा रहेर पत्रकारिता गरिरहेको समय एकपटक धरान नगरपालिकामा उनलाई देखेँ । देख्नासाथ ममा उनीप्रति उत्कट रुपमा आदरभाव पलायो । गएर नमस्कार गरेपछि पहिलेको कुराहरु बताएँ । उहाँले सम्झनुभयो । संयोगवश त्यहाँ पत्रकार भवानी बराल (हाल प्रेस काउन्सिल, नेपालका अध्यक्ष) पनि हुनुहुन्थ्यो । बराल दाईले उहाँलाई इंगित गर्दै भन्नुभयो,“राजकुमार भाईले उहाँलाई रातो हुँदा देख्नुभएको होला, उहाँ त पहेलो भइसक्नुभयो नि उहिल्यै ।”

यहाँनेर लिथोको प्रसँग मैले टाइपटाइटरसँग जोड्न खोजेको हुँ ।
त्यो बेला पार्टीको आम्दानी वा पार्टी कामका लागि कमरेडहरुले एउटा चोरी काम पनि गरेछन् । मैले पछि थाहा पाएको । हाम्रोबाट पारीको गाउँ (पैदल यात्रामा झन्डै ५ घण्टाको बाटो) ताङ्खुवाको चुलाचुली माध्यमिक विद्यालयमा कसैले डोनेसन गरेको टाइपराइटर रहेछ । त्यो मेसिनमाथि कमरेडहरुको आँखा प-यो । त्यसलाई कब्जामा लिने र पार्टी काममा प्रयोग गर्ने निर्णय भएछ । त्यो कामको जिम्मा पाएकाहरुले रातको समय पारेर हाम्रो घरमा ल्याएछन् । केही दिन हाम्रो घरमा लुकाएर राखिएको त्यो मेसिनलाई धरान वा विराटनगर पठाउनु पर्ने भएछ ।

एकातिर टाइपराइटर चोरिएर खैलाबैला मच्चिएको अवस्था । अर्कोतिर धनकुटाबाट धरानतिर लैजादा खासगरी साँगुरीभञ्ज्याङमा हुने कडा सुरक्षा जाँच । एउटा उपाय फुरेछ । हाम्रा घरमा जम्मा हुने कमरेडहरुमध्ये एक जनालाई ढाक्रेको भेष धारण गराउने र ढाकरमा बोकाएर त्यसलाई साँगुरीभञ्ज्याङ कटाउने । त्यो कामका लागि पुष्प राई तयार हुनुभएछ । उहाँले त्यो जोखिम मोल्नुभएछ । पछि पुष्प दाई अलि पिउने गर्नुहुन्थ्यो, कमरेडहरुले पनि उहाँलाई खासै वास्ता गरेको देखिएन । उहाँ बितिसक्नुभयो ।

त्यो समयमा घरमा कोही नभएको बेला कतिपय पार्टीका कागजपत्रहरु पढ्ने गर्थेँ । सेल्टरमा जम्मा भएका पुस्तक र पत्रिकाहरु नपढेको भए म लेखनको यात्रामा सायद हुन्नथेँ । त्यसबेला कुनै सम्मेलन  आयोजना गर्नुपरे कमरेडहरुले आवश्यक सामानहरु आफै जोहो गर्थे । यसका लागि जिम्मेवारी तोकिन्थ्यो । यस्तै एउटा कागज पढ्ने अवसर पाएको थिएँ । कागजअनुसार यस्तो जिम्मा पाउनेहरुमध्ये एक जनाको नाम थियो, दिनेश अमात्य, धनकुटा–५, माथिल्लोकोप्चे । अहिले उहाँ नेपाल प्रहरीको बरिष्ठ दर्जामा हुनुहुन्छ ।

यस्तो गतिविधि हुने हाम्रो टोलमा गाइने गीत जनवादी हुन्थे । यहाँमा मानिसहरु सबै जनवादी । वरपरका टोलबासीले हाम्रो टोलको नाम “जनवादी टोल” राखिदिएका थिए । यसको पुरानो नाम त खासमा भोटेचौतारा हो, अहिले स्कूलडाँडा भनेर चिनिन्छ ।

 

Comment

Related News