h

News

हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे (कुराकानी)

news

हङकङमा नेपाली भाषा साहित्यकालागि भइरहेका हर प्रयासहरुमा सबैभन्दा अग्रपंक्तिमा रहेर नेपाली साहित्य वाङ्मयको विकास, संरक्षण र संवद्र्धनको क्षेत्रमा सक्रिय, हङकङमा नेपाली साहित्यको प्रमुख व्यक्तित्व – हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेसँग आलोपालो डटकमकालागि गरिएको कुराकानी यहाँ प्रकाशित गरिएको छ । आलोपालो डटकम नेपाली भाषा, साहित्य एवं समाजको बृहत्तर हितमा लाग्नेहरुको लेख, रचना, अन्तरवार्ता र जीवनीहरु यहाँ प्रकाशित गरिरहेका छौं ।

१. टंक सम्बाहाम्फेज्यू तपाईलाई के भनेर बोलाउ ?कवि,गीतकार वा अरु केही ?

>> मलाई जसरी बोलाए पनि हुन्छ । म गीत,कविता,गजल देखि लिएर प्राय सबै विधामा कलम चलाउने गर्छु । अथवा एउटा सरल नेपालीको रुपमा बोलाए पनि हुन्छ । म नेपाली हु ।  

२. तपाईको कविता र गीत बिधामा भने साच्चिकै चर्चामा हुनुहुन्छ ? के भन्नुहुन्छ तपाई ?

>> कविता र गीत बिधा मैले सबै भन्दा बढी हात चलाउने विधा हो त्यसैले अलि बढी नै लेख्ने गर्छु लेखि रहेको छु । त्यसैले यो विधामा मेरो नाम अगाडी आउनु स्वभाविकै हो । र जसले चर्चा गर्न योग्य लेख्छ उसको चर्चा हुन जरुरी पनि छ । यसमा म के भनौ कामले चर्चा पाउने हो मैले त्यो काम गरेको छु त्यसकारण मेरो चर्चा भएको हुन पर्छ ।

३. कविज्यू, तपाईको कविता संग्रहको बारेमा बताउँनुहोस् न ?

>> मेरो कबिता संग्रह बि.स.२०५७ सालमा युद्धभित्र उभिएका बुद्धहरु नेपाली साहित्य प्रतिष्ठान,हंगकंगद्वारा प्रकाशित भएको हो । त्यसपछि म निरन्तर कविता लेखन मै छु प्रकाशनको काम थाती राखेर । बरु अरु २ सिडी एल्बम निकाले त्यसबीचमा । यो संग्रहको बारेमा म के भनौ मैले जुन कुरालाई फोकस गरेर लेखेको थिए त्यसमा सफल भएको ठान्छु । मैले भन्दा बढी ९ जना समिक्षकहरुले यो कविता संग्रहको बारेमा बोल्नु भएको छ ।

४. तपाईहरु रेखा कविता आन्दोलनमा हुनुहुन्छ ? रेखा भनेको के हो ?
>> हो म रेखा कविता लेखन आन्दोलनमा छु अथवा छौ म लगायत १२ जना नेपाली कविहरु । छोटकरीमा रेखालाई जीवन र जगतलाई जोड्ने सेतुको रुपमा परिभाषा गरेका छौ । यसका छ मान्यताहरु छन् । १. समानता २. क्षेत्रता३. सामयिकता ४. सहनशीलता ५. अलङ्कारिता ६.रेखीय प्रस्तुति रहेका छन ।

५. रेखा कविता आन्दोलनको गतिविधिहरु सुनाउँनुहोस् न ?

>> रेखा साहित्य लेखनको जन्म सन् २०१० सेप्टेम्वर १२ तारीख देखि औपचारीक रुपमा भएको हो । त्यसपछि लगातार फेसबुक मार्फत रेखा कविता लेखन म लगायत १२ जना नेपाली कविहरुले बिश्वब्यापी लेख्दै आएका छौ । सन् २०११ मा सबैभन्दा पहिले काठमाडौको गुरुकुलमा रेखा कविता बारे मैले व्याख्या गरेको थिए । जहा रेखा कवि अतित मुखियाको रेखा काब्य अचानो आहतको बिमोचन पनि भएको थियो । त्यसपछि  बाणी प्रकाशन बिराटनगर र दमक क्याम्पसमा रेखा कविता वाचन तथा बिशेष बिमर्श गरिएको थियो । सन् २०१४ को जुलाई महिनामा पुन बाणी प्रकाशन बिराटनगर र महेन्द्र बहुमुखी क्याम्पस धरानमा  रेखा कविता वाचन तथा बिशेष बिमर्श कार्यक्रम सम्पन्न भएको छ । साथै रेखा कवि अतित मुखियाको अर्को नया रेखा कविता संग्रह प्रकाशनको क्रममा रहेको छ । समयको माग अनुरुप काम भैरहेको जानकारी गराउन चाहन्छु ।

६. तपाई गीत लेखनमा चर्चित हुनुहुन्छ नि ?  हिजोआज के गर्दै हुनुहुन्छ ?

>> गीत नै मेरो जीवन जस्तो लाग्छ त्यसैले हरबखत गीत लेखि रहन्छु । मानबिय संवेदनालाई छुने खालको बढी गीत लेख्ने भएकोले पनि चर्चा भएको हुनु पर्छ । मनोभाब र सार एल्बममा यस्तै प्रकारको गीत बढी समेटेको छु त्यसैले ती दुई एल्बमहरु चर्चामा आएका हुन । जसको चर्चाले सर्जकलाई पनि चर्चित बनाएको हुनु पर्छ । हिजोआज म घरयासी काम संगै साहित्य लेखनमा सक्रीय नै छु ।

७. हङकङको नेपाली साहित्य बारेमा केही बताउँनुहोस् न ?

 >>> हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ । यहिबाट विभिन्न बिचारहरुको उत्पादन भएको छ । भयवाद ,रेखा कविता लेखन,समुच्च विचार र चाउचाउ साहित्य । पुस्तक र साहित्यिक पत्रिका पनि प्रकाशनमा आईरहेका छन् । नेपाली भाषा पढाई हुने बिद्यालयमा पनि नेपाली साहित्यको बिबिध विधामा बिद्यार्थीहरुले कलम चलाउदै छन् । मासिक रुपमा  हङकङ साहित्यिक साझा श्रीङ्खाला ३० औ भाग पूरा भएको छ । फेसबुक मार्फत त्यतिकै लेख रचना आईरहेका छन् ।यसलाई मुल्यांकन गर्ने हो भने हंगकंगमा नेपाली साहित्य लेखनको स्थिति राम्रै भएको अनुमान गरेको छु ।

८. तपाई हङकङ नेपाली साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ? तपाईको संस्थालाई यहाँको केही साहित्यकारहरुले ब्यानरसम्म फेर्दैन भन्ने आरोप लगाउँछन नी ?

>>> हजुर अहिले सम्म नेपाली साहित्य प्रतिष्ठान हङकङको अध्यक्ष पदमा बहाली नै छु । किनभने अरु चलाउने व्यक्ति आउनु भएको छैन त्यसैले मैले चलाउनु मेरो कर्तब्य पनि हो । यहाँको केही साहित्यकारहरुले ब्यानरसम्म फेर्दैन भन्ने आरोप मात्र भन्दा पनि हल्ला मात्र हो । ब्यानर फेर्न आउनेलाई बाटो खुल्ला छ किनकि नेपाली साहित्य प्रतिष्ठान हङकङ चलाउने मैले मात्र ठेक्का लिएको छैन । यो सबैको साझा संस्था हो ।

९. नेपाली साहित्य प्रष्ठिानको आगामी कार्यक्रमहरु केही छन् की ?

>>> नेपाली साहित्य प्रतिष्ठान हङकङको आगामी कार्यक्रम सदा झैँ लेखन तथा प्रकाशनलाई नै बढवा दिने हो ।हालसम्म प्रतिष्ठानले  छरिएको सिन्दूर -कथा सङग्रह-(वि.सं.२०५७),युद्धभित्र उभिएका वुद्धहरु -कविता सङग्रह(वि.सं.२०५८),त्यान्द्रो-उपन्यास-(वि.सं.२०५९),यथार्थका चोइटाहरु -संयुक्त कथासङग्रह-(वि.सं.२०६०),भयवादः वैचारिक चिन्तन - वैचारिक लेखसङग्रह-(वि.सं.२०६६) केवल गंगा गुरुङका कविताहरु -कविता संग्रह –(२०६७) दीप्स शाह ( आगो दोश्रो संस्करण २०११) कृष्ण कला वनेम (बिर्सिएका गीतहरु २०११) विसंगति  २०१३ कविता संग्रह र हालासालई हाङ्गपाल आङ्गबुहांग - च्याब्रुङ्गको आवाज २०१४ हाईकु संग्रह प्रकशित गरेको छ ।

१०. हङकङका नेपाली साहित्यकारहरु साह्रै विभाजित भइरहेका छन् भनिन्छ नी ?

>>>  हङकङका नेपाली साहित्यकारहरु साह्रै विभाजित भएको कुरा हल्लामा मात्र आएको हो । तर हामी हङकङका नेपाली साहित्यकारहरु कतै विभाजित भएका छैनौ । विचारको फरक हुनु भन्ने कुरा अर्कै हो तर हामी समझादारिता छ । हामी समग्रमा हिडी रहेका छौ । हाम्रो गन्तब्य एउटै हो नेपाली भाषा साहित्यको लेखन तथा अभिवृद्धि गर्नु हो ।

११. नेपाली भाषा विकासकालागि हामी के गर्न सकिन्छ ?

>>> नेपाली भाषा विकासकालागि हामीले हंगकंगमा धेरै काम गर्न सक्छौ र गरि पनि रहेका छौ । पुस्तकालय स्थापना,यहा अध्यायन गर्ने बिद्यार्थीहरुमा साहित्य सम्बन्धि गोष्ठी गरेर अगाडी बढ्न सकिन्छ । यहा बसोबास गर्ने नेपाली साहित्यकारहरुलाई प्रोत्साहन स्वरुप सम्मान तथा पुरस्कारको व्यस्था साथै पुस्तक प्रकाशन गरिदिएर नेपाली भाषा विकास गर्न सकिन्छ । अर्को कुरा विधिवत हंगकंग सरकारको अनुसूचीमा नेपाली भाषा दर्ता गरेर अगाडी बढ्न सकिन्छ । नेपाली भाषामा लेखिएका रचनाहरुलाई चाईनिज भाषामा अनुबाद गरेर नेपाली भाषालाई अरुको सामु चिनाउन सकिन्छ ।

१२. हङकङको नेपाली समाजको उन्नति प्रगति के कसरी गर्न सकिएला ?

>>> हङकङको नेपाली समाजको उन्नति प्रगति गर्ने उपायहरु धेरै छन् । त्यो मध्ये एक नेपाली साहित्यको अभिवृद्धिले पनि हङकङको नेपाली समाजको उन्नति प्रगति हुन्छ । किनभने साहित्य भनेको नै बौद्धिकतामा पर्दछ । सबै भन्दा पहिले मानिसको बौद्धिक विकास वा चेतना अगाडी बढ्न जरुरी छ । त्यस्तै हङकङको नेपाली समाजको उन्नति प्रगति गर्ने उपायहरु अरु पनि छन् । त्यसको लागि आफ्ना आफ्नै स्तरबाट अघि बढ्न जरुरी छ । सीप,शिक्षा,बौद्धिकता,आर्थिक र राजनीतिक हिसाबले ससक्त ढंगमा अगाडी बढ्न सकियो भने हङकङको नेपाली समाजको उन्नति प्रगति चाडै अगाडी बढेर जाने कुरामा म बिश्वस्त छु ।

१३. विश्वका नेपाली भाषा साहित्य प्रेमीहरुलाई केही भनी दिनुहोस् न ?

>>> बिश्वभर छरिएर रहनु भएका नेपाली भाषा साहित्य प्रेमीहरुलाई म के भन्न चाहन्छु भने आआफ्नै ठाउबाट नेपाली भाषा साहित्य,वांगमयको लागि अगाडी बढौ । अभिवृद्धि र बिकासको लागि हामी विदेश रहेर पनि केहि गर्न सक्छौ । पुस्तक प्रकाशन,लेखन,अध्यायन संगसंगै स्रष्टाहरुको सम्मानको लागि पुरस्कारहरु समेत विदेशबाटै स्थापना भएका छन् । एउटै हातेमालोमा उनिएर नेपाली भाषा साहित्य,वांगमयको लागि एकजुट हौ । म यहि आव्हान गर्न चाहन्छु । हामीले पनि हङकङ बसेर नेपाली भाषा साहित्य अभिवृद्धि गर्न केहि काम निरन्तर गरिरहेका छौ । धन्यबाद ।

Comment