h

News

चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ

news

डा. कविताराम श्रेष्ठ बि.सं. २००४ साल माघ ११ गते पूर्व नेपालको ओखलढुङ्गामा जन्मिएका हुन् । पछि २०१८ देखि धरान, १८ र काठमाण्डौ, ३२ का बसिन्दा कविताराम श्रेष्ठ, हाल वेलायतमा स्थापित हुनुहुन्छ । वहुप्रतिभाशाली व्यक्तित्वका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित डा. श्रेष्ठले सन् १९९७ मा भारतको गोरखपुर विश्वविद्यालयबाट समाजशास्त्रमा पिएचडी गर्नु भएको छ । युके, अमेरिका र नेपालमा प्राध्यापन गर्नु भएका डा. श्रेष्ठको स्थाई ठेगाना अनामनगर काठमाण्डौ – ३२ भए तापनि अहिले युकेमा बसिरहनु भएको छ । नेपाली साहित्यमा बि.सं. २०२४ सालतिरै सक्रिय डा. श्रेष्ठ ‘अस्वीकृत आन्दोलन’को घोषणापत्रसहित २०२६ सालमा अस्वीकृत जमात लिएर देखापरेका हुन् । नेपालबाट ३५, अमेरिकाबाट अंग्रेजीमा १ र भारतबाट अंग्रेजीमा १ गरि जम्मा ३७ वटा वहाँका पुस्तकहरू प्रकाशित छन् । बुटपालिस जस्तो चर्चित आन्दोलन गर्ने डा. श्रेष्ठको योगदान नेपाली साहित्यमा अतुलनिय छ । जनजाति विकास समिति, स्थानीय विकास मन्त्रालयको उपाध्यक्ष– १९९८, प्रधान मन्त्रिको अध्यक्षता अन्तरगत राष्ट्रिय बिकास परिषद, श्री ५ को सरकार, सिंहदरबार, नेपालको सदस्य– १९९७, विज्ञ सल्लाहकार ः उप–प्रधान मन्त्रीको कार्यालय, सिंहदरबार, नेपाल– १९९७, नेपाल टेलीभिजन सन्चालक समिति, सिंहदरबार, नेपालको अध्यक्ष– १९९४ जस्ता राजकीय गरिमामय जिम्मेवारीहरुसमेत सम्हाली सक्नु भएका उनै डा. श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानी ः–

१) अस्वीकृत विचार के हो ?

®     छोटकरीमा भन्नु पर्दा समाजमा भएका अप्रगतिशील, अप्राकृतिक, असामाजिक, अमानवीय विसँगति विरुद्ध यथार्थपरक परिष्कारको लागि युद्धचेतनायुक्त प्रतिपक्षिय बिचार नै ‘अस्वीकृत बिचार’ हो ।


२) अस्वीकृत बिचारको जन्म कहिले को–कोबाट भएको थियो ?

®     ‘अस्वीकृत बिचार’ नयाँ होइन । बिचार वा सोचका धनी मान्छेजातिले उद्विकासको क्रममा जुनबेला पहिलोपल्ट बिचार प्रयोग गरेर कुनै पनि नयाँ कार्य ग¥यो त्यही बेला ‘अस्वीकृत बिचार’को सुरुवात भयो । पूर्ववत स्थितिलाई अस्वीकार गरी नयाँ विकसित युगको सुरुवात ‘अस्वीकृत युग’को सुरुवात होे । त्यो अस्वीकारको प्रकृया ढुंगेयुगदेखि अनवरत आज अन्तरिक्ष युगसम्म निरन्तरित छ । अस्वीकारको प्रकृया भविष्यमा पनि अनन्त छ । मैले यो अस्वीकृत अवधारणाको कुरा गरेँ । नेपाली साहित्यमा ०२५ सालतिर पञ्चायति अप्रगतिशील निरंकूश साशन विरुद्ध प्रतिपक्षिय साहित्यको सुरुवात केही विद्रोही युवा साहित्यकारहरूको कलमबाट हुँदै गरेको स्थिति थियो । नेपाली साहित्यको इतिहासमा पहिलोपल्ट अस्वीकृत जमातको घोषणा ‘सञ्जीबनी’ भन्ने समसामयिक सहित्यिक पत्रिकाको माध्यमबाट २०२६ सालमा भयो । त्यसका सम्पादक म कविताराम श्रेष्ठ र नेपाल भूषण न्यौपाने थियौँ । तर ‘अस्वीकृत जमात’ र ‘अस्वीकृत साहित्य आन्दोलन’को अवधारणा भने २०२५ सालमै म कविताराम श्रेष्ठ र शैलेन्द्र साकारले बनाएका थियौँ । यसमा अनवरत सकृयता साथ पुष्कर लोहनी, प्रकाश ‘प्रेमी’, प्रेमनारायण ‘प्रेमी’, ब.आ. कनकद्वीप, कुमार नेपाल, भाउपन्थी, अन्जीर प्रधान ‘पीडित’, काशीनाथ तमोट, साकेत बिहारी ठाकुर, मोहनसिंह, जगतरंजन, नवीनप्रकाश जंग शाह र इन्द्र राजभण्डारीको पनि अग्रता थियो । मुखपत्रकै रूपमा ३ वटा दर्ता नभएका समसामयिक साहित्यिक पत्रिकाहरू थिए । ती हुन् ः ‘।।मन्त्र।।’ (सम्पादक ः शैलेन्द्र साकार र कविताराम श्रेष्ठ), सञ्जीवनी (सम्पादकः कविताराम श्रेष्ठ, पुष्कर लोहनी र नेपाल भूषण न्यौपाने) र ‘रेषा’ (सम्पादकः अन्जीर प्रधान) ।


३) अस्वीकृत बिचार आन्दोलनले समयलाई दास बनाउँछ भन्नुभा छ, त्यसको अर्थ के हो ?

®    अस्वीकृत बिचार आन्दोलन युगलाई आफ्ना प्रगतिशील सोच अनुरूप परिवर्तन गर्ने वा हाक्ने कसरत हो । सत्ता सदा आफ्ना सत्ता कायम गर्न कुनै परिवर्तन चाहँदैन, यथास्थितिबादी हुन्छ । परिवर्तनकामी सर्जक भने कुनै युगसापेक्ष भाट भएर रहँदैन । अपितु युगलाई नै धकेलेर, त्यसलाई अस्वीकार गर्दै आफ्ना सोचका प्रगतिशील परिवर्तनको लागि संघर्षशील हुन्छन् । समयको दास ऊ हुन्न । समय उसको दास हुन्छ ।

४. अस्वीकृत साहित्यको मान्यता चाही के हो त ?

®  पुराना जीर्ण अनुपयोगी मान्यताहरूलाई अस्वीकार गर्दै स्वाभाविक परिवर्तनकामि मान्यताको लागि गरिने सङ्घर्ष अस्वीकृत साहित्यको अभीष्ट हो । मैलेचाहिँ यस चिन्तनलाई ‘स्वभावबादी चिन्तन’ भन्ने गरेको छु । मैले व्याख्याएको स्वभावबादी चिन्तन एउटा सामाजिक चिन्तन हो । साहित्यिक माध्यमबाट यो सङ्घर्ष आन्दोलित हुँदा यसलाई ‘अस्वीकृत साहित्य’ भनेर नाम दिइएको हो । अतः अस्वीकृत साहित्यको मान्यता कलात्मक अभिव्यक्तिका साथ अनुपयोगी मान्यतालाई धराशयी गर्दै जीवनोपयोगी मान्यता प्रतिपादन गर्नु रहेको छ । स्वभावबादी चिन्तनबाट निःसृत अस्वीकृत साहित्यले वस्तुगत दृष्टिकोण राख्दछ, पार्थिव इन्द्रियद्वारा प्रत्यक्ष अनुभूत नहुने तथ्यहरूलाई प्रामाणिक मान्दैन, आफू उभिएको भूमिबाट जीवनको परिभाषा लेख्दछ, भौतिक आवश्यकताको परिपूर्ति मान्छेको सही र प्रथम आवश्यकता हो तथा सम्पूर्ण मानवजातिको त्यसमा समान अधिकार छ भनेर मान्दछ । पूर्ववर्ती समस्त उपयोगी मान्यताहरूको जगमा नयाँ प्रगतिशील मान्यताहरूको प्रतिपादनको लागि यसले बाटो प्रशस्त गर्दछ ।

५. वर्तमान नेपाली साहित्यमा अस्वीकृत मान्यताको स्थिति कस्तो छ ?

®  अस्वीकृत मान्यता हर समय हर कालमा रहन्छ । एउटा सबल मान्यता सधैँ अस्वीकृत रहँदैन । त्यो स्वीकृतिको लागि सङ्घर्ष गर्दागर्दै एक समयमा विजय प्राप्त गरी स्वीकृत हुन्छ । हरपक्षका सुधारका बिकल्पहरू हुन्छन् । बिकल्प परिष्कारको लागि उत्पन्न हुन्छ । परिष्कारको थालनी एउटा अस्वीकृत स्थिति हो । स्वीकृत स्थितिले त्यसलाई स्वीकार्दैन अतः त्यो अस्वीकृत रहन्छ । जबसम्म विकासको चाहना हुन्छ त्यहाँ परिष्कारको लडाइँ हुन्छ । मान्छे भन्ने चेतनशील प्राणीमा हर्दम विकासकै चाहना हुन्छ त्यसै मानेमा अस्वीकृत आन्दोलन कुनै पनि समाजमा कुनै पनि युगमा सधैँ हुने एउटा प्रक्रिया हो– विकासको शाश्वत प्रक्रिया । यो थियो, छ र हुनेछ । यसको अन्त्य छैन, कुनै पनि मान्यताले स्वीकृति पाउनेबित्तिकै त्यसैको सुधारको लागि अर्को आन्दोलन सुरु हुनेछ । जहाँ सङ्घर्ष सिद्धियो भनिन्छ त्यहाँ नै प्रगतिको क्रम अवरूद्ध हुन्छ । त्यो प्रगतिशीलता होइन । हर राजनीतिकर्मीहरू आफ्नो दुनो सोझिनेसाथ थप सङ्घर्षप्रति निरुत्साहित हुन्छन् । अझ भन्ने नै हो भने उसको दुनो गुम्ने डरमा प्रगतिशील सङ्घर्षलाई निरुत्साहित गर्न लाग्दछ । या त उनीहरू सङ्घर्षशीलतालाई किनेर भाटगिरीमा परिणत गराउन लाग्छन् या असामाजिक तत्वको अवगाल दिँदै त्यसमाथि दमन गर्न सुरु गर्दछन् । सही साहित्यकर्मी तथा कलाकर्मी कदाचित् भाट रहन सक्दैन । हरेक विसङ्गतिबिरुद्ध उनको चेत जागरुक रहेको हुन्छ । कतै ऊ रोकिन्न । कतै ऊ भुल्दैन । ऊ सदा सङ्घर्षशील खबरदारी र बिद्रोहमा जीवन्त भइरहन्छ ।

६.अस्वीकृत जमातको साहित्यिक उपादेयता कस्तो छ ?

अस्वीकृत जमातले सुरु (०२६) देखिनै पूर्ण रूपमा जीर्ण मान्यताहरूको जग हल्लायो । पृष्ठपोषकहरूलाई तिलमिलाइदियो । तत्कालीन पञ्चायती व्यवस्थाबिरुद्धका सङ्घर्षको अभीष्टलाई टेवा पु¥यायो । सबैभन्दा महत्वको कुरो कार्यगत एकताको लागि एउटा नमुना नै भयो– काङ्ग्रेस, कम्युनिस्ट वा स्वतन्त्र सबै किसिमका सहयोद्धाहरूको सहभागिता थियो यस साहित्यिक आन्दोलनमा । साहित्यले समाजमा अगुवाको काम गर्नुपर्छ । यहाँ भयो यस्तै– पहिले यस जमातले निरङ्कुश मान्यताहरूको बिरुद्ध सङ्घर्षमा संयुक्तमोर्चा कस्यो । राजनीतिक परिसरमा त २० वर्षपछि वि.सं. २०४६ सालमा आएरमात्र संयुक्तरूपमा जनआन्दोलन भयो । अस्वीकृत जमातको साहित्यिक उपादेयता यही भयो, कि यसले संयुक्तमोर्चाको नमुना दिएर समाजलाई नै मार्गनिर्देशन ग¥यो । अस्वीकृत आन्दोलन नेपालमा कार्यगत एकताको पहिलो नमुना हो– नेपाली इतिहासमा यो सुनौला अक्षरले लेखिनुपर्छ ।

७. तपाईले बुट पालिस जस्तो चर्चित आन्दोलन पनि गर्नु भयो । नेपाली साहित्यिक आन्दोलनहरूमा बुट पालिसको कस्तो महत्व रहेको छ ?

®    बुटपालिस आन्दोलन पनि पंचायति निरंकूश सासन विरुद्ध नै गरिएको एक दिने साहित्यिक आन्दोलन हो । यो आन्दोलन २०३१ साल आश्विन १२ गते शनिवार दिनभरी काठमाडौँ, नयाँ सडक, पिपलबोटको पूर्व स्थित सभागृहको पेटीमा बसी साहित्यकारहरूबाट “युवा लेखन प्रकाशनार्थ बुट पालिस” भन्ने पर्चा टाँसेर गरिएको थियो । अस्वीकृत रहेका विद्रोही साहित्यकारहरूका कृति वा पुस्तक नछापिने स्थितिलाई व्यंग्य दिएर अब सहित्यकारहरू आफै श्रम गरेर आर्जन गरी पुस्तक छाप्ने आन्दोलनमा लाग्यौँ भन्ने सन्देश दिन हामीले यो अभियान ग¥यौँ । यसका आयोजक अस्वीकृत जमातका अभियन्ताद्वय शैलेन्द्र साकार र म कवितारामका साथै मोहन घिमिरे र ध्रुव सापकोटा थियौँ । यसमा अस्वीकृत जमातका भाउपन्थी साथै नारायाण ढकाल, सन्तोष भट्टराई, विश्वनाथ न्यौपानेको अग्रणी साथ थियो । पछि अपरान्हसम्ममा यो पालिसेको लाम बढेर ३० जना बढी पुग्यो, जसमा प्रेम कैदी र आनन्द आचार्य समेत थिए । लाम बाहिरबाट समेत धेरैले साथ दिइरहेका थिए, जसमा नगेन्द्रराज शर्मा र भवानी घिमिरेसमेतको सकृयता थियो । बालकृष्ण सम त्यसबेला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति थिए । उनले पनि हामीसँग बुट पालिस गराएर आर्थिक सहयोग गरेका थिए । धेरै गन्यमान्यहरुको आगमन भएको थियो । दिनभरी हाम्रो अभियान सफलता पूर्वक सम्पन्न भए तापनि बेलुका हामी सिआइडी पुलिसहरुबाट कुटिएका थियौं । यसै अभियानलाई साथ दिन भोलीपल्ट प्रगतिशील समूहका विद्यार्थीहरूले त्रिचन्द्र कलेजमा र प्रजातान्त्रिक समूहका विद्यार्थीहरूले कीर्तिपुर क्याम्पसमा बुट पालिस गरेछन् र संकलित रूपैयाँ हामीलाई बुझाउन ल्याएका थिए ।
 

८. अस्वीकृत आन्दोलनको निरन्तरताको को लागि के गरिदै छ ?

परिष्कारको खोजी नै अस्वीकृत आन्दोलन हो । जबसम्म समाज निरन्तरित रहन्छ यो कुनै पनि नाममा होस् निरन्तरित रहनेछ । हिजो मसँग साथीहरू थिए । टाउकोको गन्ती देखाउन त्यसबखत जरुरी थियो र सङ्ख्या बढाउन म कार्यरत थिएँ । आज त्यसको जरुरी देख्दिनँ । हरेक सङ्घर्षशीलहरूका कलममा यो आन्दोलन जारी छ र सदा जारी रहनेछ । यस लडाइँमा अलिकति भए पनि बिद्रोही सर्जकहरूलाई केही टेवा पुगोस्, त्यसैको लागि मैले आफ्ना सम्पूर्ण लेखकस्व, लेखकीय पुरस्कार तथा आम्दानीहरू जीवनभरका लागि अक्षयकोषमा गुठी राखिदिएको छु– ‘अस्वीकृत बिचार पुरस्कार साहित्य गुठी’ नामसाथ । यसले स्थापना भएको वर्ष ०५४ सालदेखि हरेक वर्ष एकएकजना सत्ताद्वारा सिमान्तिकृत बिद्रोही सर्जकलाई पुरस्कृत गर्दै आएको छ । यस संस्थाले २०७३ सम्म १९ राष्ट्रिय अन्तराष्ट्रिय नेपाली साहित्यकारहरूलाई पुरस्कार र ६ जना सम्मान प्रदान गरिसकेको छ ।

९ . अन्तमा केही भन्नु हुन्छ कि ?

पहिला त मलाई पाठकहरू सामु लाने यो ब्लाष्ट परिवारलाई हार्दिक धन्यबाद दिन चाहन्छु । दोस्रो, यो भन्न चाहन्छु कि यो छोटो अन्तरवार्ताले अस्वीकृत बिचार साहित्य आन्दोलनको इति वृतान्त समेट्न सक्दैन । सकेको छैन । यसको लागि मेरा हरेक कथा, उपन्यास, नाटक वा निवन्ध सँग्रह हेर्न निवेदन गर्दछु । साथै (१) कवितारामका अस्वीकृत मान्यता, कौशिकी प्रतिष्ठान, २०५९, (अन्तरर्वाता संगालो) (२) बहुमूखी प्रतिभाः डा. कविताराम (समालेचनाको सँगालो), तन्नेरी प्रकाशन,२०५९, (३) डा. कवितारामः जीवनी व्यक्तित्व र कृतित्व (शोधकृति), ले. गोपालप्रसाद खतिवडा, साथी प्रकाशन, २०६६ ले प्रकाशित गरेका छन्, ती हेर्न अनुरोध छ । साथै त्रिभूवन विश्वविद्यालयका नेपाली साहित्यका विद्यार्थीहरूले मेरा बारेमा ५ भन्दा बढी एमएको शोधपत्र तयार गरेका छन् ती अध्ययन गरेमा अरु बुझिएला । यी सबैमा ध्यान राख्न मेरो विशेष अनुरोध छ ।

 

Comment