h

News

विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै

news

धरान– विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार देखि उपकुलपति पद रित्त भएको छ । पाचबर्ष अघि नियु्क्त भएका प्रा डा बलभद्रप्रसाद दासको पदावधि सकिएपछि उपकुलपति पद रिक्त भएको हो ।
प्रतिष्ठानका उपकुलपति पद रित्त हुनु दुइमहिना अघिदेखिनै उक्त पद हत्याउनकालागि प्रतिष्ठान भित्रकै आधादर्जन कनिष्ठदेखि बरिष्ठ चिकित्सक पदाधिकारीहरु शक्ति केन्द्र धाउन व्यस्त भएका छन् । दुइ दशक अघि धरानमा भारत र नेपालको साझेदारीमा भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को मोडेलमा स्थापना भएको प्रतिष्ठानको उपकुलपति पद स्वास्थ्य संस्थामा निकै सम्मानजनक मानिन्छ । प्रतिष्ठानमा सहकुलपति एवम् स्वास्थ्यमन्त्री संयोजक हुने समितिले पठाएको सिफारिसमा तीन जना मध्ये एकजनालाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने प्रावधान रहेको छ ।

 सरकारी निकायले निगरानी र केही आर्थिक सहयोग गर्दै आएपनि चिकित्सकहरुकालागि मुलुकको एकमात्र नन प्राक्टिस स्वास्थ्य संस्था र स्वायत्त शैक्षिक स्वास्थ्य संस्था भएकाले प्रतिष्ठानको उपकुलपति पद प्राप्त गर्न पदाधिकारी र पुराना चिकित्सकहरु होडबाजीमा लागेका छन् ।

पछिल्लो समयमा राजनीतिक शक्तिमा रहेको वा विपक्षीमा शक्तिशाली रहेको कुनै न कुनै दलको लेवल लगाएर र वरिष्ठताका आधारमा आफुनै उपकुलपति हुनु पर्ने दावीकासाथ विभिन्न शक्ति केन्द्र धाउने चिकित्सकहरुको लस्कर बढेको छ । ती मध्ये प्रतिष्ठान स्थापना कालदेखि कार्यरत युरोलोजिष्ट प्राध्यापक चन्द्रशेखर अग्रवाल (सीएस अग्रवाल), रेडियोलोजी विभागका प्राध्यापक राजकुमार (आरके) रौनियार, मेडिसिन डिपार्टमा प्राध्यापक प्रल्हाद कार्की, हाडजोर्नी भिभागका विषेशज्ञ प्राध्यापक गुरु खनाल प्याथोलोजिष्ट तथा अस्पताल निर्देशक प्रा अरविन्दकुमार सिन्हा, कम्यूनिटि विभागका प्राध्यापक पारस पोखरेलको नाम शक्ति केन्द्रमा धाउनेको सूचीमा रहेको प्रतिष्ठानका एक उच्च पदाधिकारीले बताए । यी नामहरु बाहेक निवर्तमान उपकुलपति प्रा डा दास आफै पनि उपकुपति पदलाई निरन्तरता दिन इच्छुक रहेका छन् । उनीहरु प्रतिष्ठान भित्र समकालिन मान्छिन् । केही चिकित्सकहरुमात्र केही बर्ष अघि पछि नियुक्त भएका हुन् ।

राजनितिक भागवण्डा भएमा एमालेबाट उपकुलपतिकालागि कोही पनि हुने छैन । प्रतिष्ठानको रजिष्ट्रार तुलवहादुर श्रेष्ठ एमालेबाट पहिले नै नियुक्त भएकाले कांग्रेस र नेकपा माओवादी केन्द्रको लेवल लागेकाहरु वीच नै प्रतिष्पर्धा हुने निश्चित भएको छ । प्रतिष्ठान भित्रै उपकुलपतिका आकांक्षी मध्ये नेकपा माओवादी केन्द्रका लेवल लागेका डा गुरु खनाल एकमात्र धावक हुन् । उनले भने, ‘म यो प्रतिष्ठानको हितमा उपकुलपति हुन योग्य भएर नै दावी गर्दै आएको छु । पालो मेरै हो ।’

प्रतिष्ठानको सहायक अस्पताल निर्देशक पद समेत सम्हालेका डा खनाललाई कतिपयले भने चर्चामा आएका चिकित्सकको तुलनामा कनिष्ठ मान्दै आएका छन् । कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालयमा माओवादी लेवल लागेका डा खनाल उपकुलपति हुनकालागि प्रधानमन्त्री पुस्प कमल दाहालको आशिर्वादसंगै दवाव पर्याप्त हुनेमा विश्वस्त छन् ।

कांग्रेसको ट्यागमा अर्का आकांक्षीहरु डा सिएस अग्रवाल, डा राजकुमार रौनियार, डा प्रल्हाद कार्की समानन्तर रुपमा शक्ति केन्द्र धाइरहेका छन् । डा अरविन्दकुमार सिन्हा भने खुल्ला राजनितिका देखिएका छैनन् । उनी आफ्नै बलबुत्तामा उपकुलपतिको दावेदार बनेका छन् । उनी अस्पताल निर्देशक भएर अनुवभ संगालेकाले सरकारले आफुलाई मुल्याङ्कन गरेर उपकुलपतिमा नियुक्ती दिए हुने भन्ने मनसाय राखेका छन् ।
डा रौनियारले पहिले पनि दुइ पटक उपकुलपतिका लागि शक्तिकेन्द्र धाइ सकेका छन् । उनले प्राध्यापक स्तरका जस्ले पनि उपकुलपति दावी गर्न सक्ने बताए । उनले भने, ‘विपि प्रतिष्ठानलाई साच्चैको स्वास्थ्य शैक्षिक संस्था बनाउन पारदर्शी काम गर्ने उपकुलपति आउनु जरुरी छ । त्यसकालागि मेरो विकल्प छैन ।’

राजनितिक ट्यागमा नखुलेका मानिएका निवर्तमान उपकुलपति डा दाससंग चार बर्ष अस्पताल निर्देशक र पाच बर्ष उपकुलपति भएर अस्पताल संचालन गरेको र उनकै पालामा रजिष्ट्रार पनि ढिलो नियुक्ति भएकाले रजिष्ट्रारको काम समेत गरेको अनुभव रहेको छ । उनले भने, ‘मेरो कार्यकालमा कालमा अस्पतालतर्फ न्युरो सर्जरी, कार्डियोथोरासिक सर्जरी तथा मुटु रोगका अन्य सेवा, रिह्याबिलिटेशन सेन्टरको विस्तार भएको छ ।’
उनैले अस्पतालमा उपचारकालागि आउने विरामी सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन आवश्यक सेवा सहजताका कार्यकालागि स्वयम्सेवकको व्यवस्थादेखि समयमा रिपोर्ट दिने प्रथाको सुरुवात गरेका थिए । राजनितिमा नखुलेपनि डा दासले अन्य राजनितिक दलका नेताहरुलाई कन्भिन्स गरेर पछिल्लो समयमा थप आठ सय शैयाको न्युरो सेन्टर तथा प्रसूति भवनको निर्माण कार्य प्रारम्भ भएको छ । आमा तथा बच्चा विभागको आकस्मिक कक्ष एवम् बेड, स्त्री तथा प्रसूति विभागमा समेत सेवा भौतिक पुर्वाधार निर्माणाधिन रहेको छ । उनैले आधुनिक कार्डियो क्याथलाव उपकरण जडान गरे । उनकै कार्यकालमा स्वास्थ्यमा उच्च शिक्षाहरू डीएम तथा एमसीएचको अध्ययन कार्यक्रम पनि उनैको पहलमा सञ्चालनमा ल्याए ।

उनले आफु एक पटककालागि प्रतिष्ठानको उपकुलपति भइसकेकाले फेरि त्यो पदका लागि शक्तिकेन्द्र नधाउने दावी गरे । उनले भने, ‘सरकारलाई मेरो योग्यता, क्षमता र मैले गरेको कामको सही मुल्याङ्कन गरेर उपकुलपतिकालागि ‘अफर’ गरेमा सहजै स्वीकारिन्छ ।’ प्रतिष्ठानको हालसम्मको इतिहासमा दोहोरिएर कोही पनि उपकुलपति भएका छैनन् ।

प्रतिष्ठान भित्रका अग्रज कर्मचारी र स्थानीय सरोकारवालाहरु भने प्रतिष्ठानमा जो उपकुलपति भएर आएपनि योग्य, दक्ष र अनुभवी हुनु पर्ने बताउदै आएका छन् । मुलुकमै सवै भन्दा बढी बन्द हड्ताल, तालाबन्दी, अनसन हुने स्वास्थ्य क्षेत्र प्रतिष्ठान पनि भएकाले प्रतिष्ठानको हितमा ‘बोल्ड डिसिजन’ गर्ने पारदर्शी उपकुलपति आवश्यक पर्ने सवैको राय रहेको छ ।
 

Comment

Related News